सात दिनभित्र नाम पठाउन पत्राचार



सुनील महर्जन, काठमाडौं
निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फ पाएको सिटअनुसार उम्मेदवारको नामावली सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गरेको छ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन एकाइले पत्र पठाएको हो।

आयोगले शुक्रबार प्रदेशसभाको समानुपातिकतर्फ पाएको मतलाई सिटमा परिणत गरी सार्वजनिक गरेको थियो। सोहीअनुरूप उम्मेदवारहरूले यसअघि आयोगमा बुझाएको बन्दसूचीअनुरूप उम्मेदवार नामावली सिफारिस गर्ने व्यहोरासहित पत्र दलहरूलाई पठाइएको हो।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका २०७४ बमोजिम राजनीतिक दलहरूले ७ दिनभित्र उम्मेदवार नामावली पेस गर्नुपर्नेछ। दलले प्राप्त गर्ने सिट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सिट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूह एवं अल्पसंख्यक समुदाय तथा पीछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत आयोगले निर्धारण गरेको छ।

महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट सम्बन्धित प्रदेशसभामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्ने पनि निर्वाचन अधिकृत पौड्यालले जानकारी दिनुभयो।

दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको निर्णयबाट निर्वाचित हुने उम्मेदवारको छनोट गरी त्यसरी छनोट भएका उम्मेदवारको सूची आयोगले तोकेको समयभित्र पेस गर्नुपर्नेछ।

राजनीतिक दलहरूले सूची पेस गर्दा जनसंख्या र दलले प्राप्त गरेको सिट संख्याको नाम आयोगले तोकेको समावेशिताको आधारमा पेस गर्नुपर्नेछ। आयोगले ६ वटा क्लस्टरलाई आधार बनाएको छ।

दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम, पीछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय तथा अपांगता भएको व्यक्ति रहेका छन्। ती नामहरू बन्द सूचीमा नाम समावेश भएको क्रमअनुसार सूची पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसपछि आयोगले त्यसलाई सच्याउन ३ दिनको समय दिनेछ। दलले पेस गरेको उम्मेदवारको नामावलीको सूची प्राप्त भएपछि आयोगले सो सूचीमा नाम समावेश भएका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गर्नेछ। निर्देशिकाको दफा ३२ बमोजिमको मतपरिणाम विभाजक सूत्रबमोजिम गणना निर्वाचित उम्मेदवार घोषणा गरिनेछ। निर्वाचित भएको उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुख समक्ष पठाई सो नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने उल्लेख छ। आयोगले विजयी उम्मेदवारको सूची प्रमुखलाई बुझाउने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्