सगरमाथाको उचाइ नाप्न थालियो, दुई वर्षमा काम सक्ने सरकारको लक्ष्य



प्रशान्त वली, काठमाडौं
सगरमाथाको उचाइ मापन कार्य शुरू भइसकेको नापी विभागले बताएको छ। मापन कार्यविधि, अन्तर्राष्ट्रिय विज्ञहरूसँग छलफल, लेबलिङलगायतका काम भएकाले उचाइ मापन कार्य शुरू भइसकेको विभागका महानिर्देशक गणेशदत्त भट्टले जानकारी दिनुभयो। मापन कार्यलाई आधिकारिक तुल्याउने गरी उचाइ मापनको कार्यविधिसमेत बनिसकेको विभागले जानकारी दिएको छ।

उचाइ मापनका लागि समुद्री सतहको आवश्यकता पर्ने तर त्यो नभएकाले समुद्री सतहको आकार परिभाषित गर्न जीपीएसमार्फत गुरुत्वाकर्षण सर्भे गरिने विभागका महानिर्देशक भट्टले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। १२ वटा केन्द्रविन्दु बनाएर सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाउने तयारी विभागले गरेको छ।

उचाइ मापन कार्य सम्पन्न गर्न २ वर्ष लाग्ने आँकलन गरिएको छ। २०७२ वैशाखको विनाशकारी भूकम्पले हिमालहरूको उचाइ केही बढेको अध्ययनले देखाएको छ। सगरमाथाको शिखरमा टोली पठाउने र जीपीएस मेसिन राखेर अनुगमन गर्ने कार्यविधिमा उल्लेख छ। उचाइ मापन कार्यका लागि शेर्पाहरूलाई तालिम लिएर उनीहरूको सहयोग लिइने विभागले बताएको छ। सगरमाथाको उचाइ नाप्न सरकारले चालू आर्थिक वर्षको बजेटमा २ करोड विनियोजन गरेको छ। यो रकमले नपुग्ने भए पनि अर्थ मन्त्रालयले बजेटको अभाव हुन नदिने मौखिक प्रतिबद्धता जनाएको महानिर्देशक भट्टले बताउनुभयो। नापी विभागका अनुसार सगरमाथाको उचाइ नाप्न विभागका ७० देखि ८० जनाको जनशक्ति खट्ने गरी तयारी थालिएको छ।

सन् १८५८ मा तत्कालीन ब्रिटिस सरकारको सर्वे अफ इन्डियाको टोलीले सगरमाथाको उचाइ मापन गरेको थियो।

त्यस बेला मापन भएको ८ हजार ८ सय ४८ मिटरलाई नै सगरमाथाको आधिकारिक मानिएको छ। सरकारसँग माग गरिएको बजेट मापन कार्यलाई आधिकारिक तुल्याउन अन्तर्राष्ट्रिय विज्ञ, अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्राविधिक यन्त्र, मापनका लागि खटिनेहरूका लागि विशेषज्ञ तालिम तथा कर्मचारीहरूमा खर्च हुने बताइएको छ।
उचाइ मापनका लागि आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्य प्राप्त प्रविधि भू–उपग्रहमा आधारित जीपीएस टेक्नोलोजीअन्तर्गत २० वटा जीपीएस इक्विपमेन्टसमेत विभागमा छ। सन् १८५२ देखि अहिलेसम्म १० पटक सगरमाथाको मापन गरिएको छ। विभागले सन् १९५४ को भारतीय नापी टोलीलाई पहिलोपटक स्वीकृति दिएको थियो। नेपालले अहिलेसम्म आधिकारिकरूपमा मान्दै आएको उचाइ भने भारतीय टोलीको रहेको नापी विभागले बताएको छ। नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने प्रक्रिया शुरू गरेको यो पहिलोपटक हो।

प्रतिक्रिया दिनुहोस्