नवीकरणीय ऊर्जा व्यवसायीहरू संगठित मिश्रित ऊर्जा प्रविधिमा केन्द्रित हुन जोड



काठमाडौं, (नेस)
वैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील विभिन्न पेशागत संस्थाको छाता संगठन नेपाल नवीकरणीय ऊर्जा परिसंघको पहिलो साधारणसभा शुक्रबार धुलिखेलमा सम्पन्न भएको छ।

नेपाल बायोग्यास प्रवद्र्धन संघ, नेपाल ग्रामीण प्रविधि प्रवद्र्धन संघ, नेपाल लघु जलविद्युत् विकास संस्था, नेपाल सौर्य विद्युत् उत्पादक संघ, नेपाल सौर्य तापीय ऊर्जा संघ, नेपाल जल तथा ऊर्जा परार्मदाता संघ, बायोग्यास सेक्टर पार्टनरसिप नेपाल र स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तिकरण केन्द्र नवीकरणीय ऊर्जा परिसंघमा आबद्ध रहेका छन्।

परिसंघको साधारणसभा परिसंघका सल्लाहकार संयोजक गणेश शाहले नवीकरणीय उर्जा प्रविधि र व्यापकता विश्वभरि नै परिवर्तनशील रहेको र नेपालले प्राप्त गर्ने अवसरहरू सदुपयोग गर्न परिसंघ एउटा माध्यम भई सम्बन्धित निकाय तथा संघ संस्थाहरूमा कार्य सहजताको वातावरण निर्माण परिसंघबाट अग्रसरताका लिनुपर्ने विचार व्यक्त गर्नुभयो।

त्यस्तै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक नवराज ढकालले वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्नमा केन्द्र सफल रहेको बताउनुभयो। उहाँले आगामी दिनमा संघीय संरचनाअन्तर्गत संघीय, प्रादेशिक तथा स्थानीय सरकारका साथ सहकार्य गर्दै वैकल्पिक ऊर्जा प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने र निजी क्षेत्रको सहयोग र सहकार्यबाट यसअघिका कार्यक्रम सफल रहेको हुँदा निजी क्षेत्रका साथ अघि बढन परिसंघको पनि सहयोग र सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो।

उक्त अवसरमा पूर्वऊर्जासचिव बालानन्द पौडेलले मुलुकलाई ऊर्जाको माध्यमबाट समृद्ध बनाउन सकिने भएकाले मिश्रित ऊर्जा प्रविधिमा केन्द्रित भई स्थानीय सरकारहरूका साथ काम गर्न सहज वातावरण निर्माण गर्न परिसंघको महत्वपूर्ण भूमिका हुनसक्ने भएको औंल्याउनुभयो।

साधारणसभाले गुणराज ढकालको अध्यक्षतामा नयाँ कार्यकारी चयन गरेको छ। आगामी दुई वर्षको कार्यकालको लागि भएको उक्त निर्वाचनबाट उपाध्यक्षमा उत्तम सिटौला, महासचिवमा पदम दुलाल, कोषाध्यक्षमा हस्त पण्डित र कार्यकारी सदस्यहरूमा केशवराज खनाल, कृष्णप्रसाद देवकोटा, विश्वराज कार्की, गोकुल गौतम, तेजनारायण ठाकुर, ऋसवराज आचार्य र कृष्णप्रसाद पराजुली निर्वाचित गरेको छ।

प्रतिक्रिया दिनुहोस्