नेपाल टेलिभिजनमा रियो छमछमी–३



चौधरी गु्रुपको सिजी फुडको प्रस्तुतिमा नेपाल टेलिभिजनले छमछमीको तेस्रो संस्करणलाई प्रसारणमा ल्याएको छ। नेपाली टेलिभिजनकै इतिहासमा पहिलोपटक गरिएको मेगा डान्स रियालिटी शोलाई नेपाल टेलिभिजनले रियो छमछमी–३ का नामले प्रसारण ल्याएको हो।

छमछमी–१ र छमछमी–२ पछि नेपाल टेलिभिजनबाट रियो छमछमी–३ प्रसारणमा ल्याइएको हो। काठमाडौंबाट आरम्भ गरिएको अडिसनपछि पोखरा, कोहलपुर, धनगढी, बुटवल, इटहरी, झापा, वीरगन्ज र नारायणगढमा पनि सम्पन्न भइसकेको छ। अडिसनमा आएका २ सयभन्दा बढी डान्स प्रतिभाबाट १ सय ५० प्रतिभालाई मेगा अडिसनमा सामेल गरी त्यसबाट टप २०, १९ हुँदै टप ११ सम्म निर्णायकको निर्णयअनुसार छनोट गरिएको थियो। टप १२ बाट भने भोटिङ राउन्डका रूपमा दर्शक छनोटलाई आधार बनाई टप ५ सम्म सञ्चालन हुने टेलिभिजनले जनाएको छ। त्यसपछि अन्तिम ५ प्रतिस्पर्धीले निर्णायक प्रतिस्पर्धामा अफ्नो प्रस्तुति प्रस्तुत गर्नेछन्। विजेताको छनोटसमेत दर्शक मतका आधारमा हुनेछ।

प्रतियोगितामा प्रथम हुने विजेताले डाट्सनेको रेडी गो कार, द्वितीय हुनेले ५ लाख रुपियाँबराबरको एलजी होम एप लाइसेन्स, तृतीय हुनेले ३ लाख रुपियाँ बराबरको एलजी होम एप लाइसेन्स तथा टप १० भित्र स्थान बनाउने अन्य ७ प्रतिस्पर्धीले ३२ इन्चको एलजी स्मार्ट टिभी पुरस्कार पाउने व्यवस्था गरिएको छ। कार्यक्रमका हरेक भागलाई विभिन्न सेलिब्रेटीको उपस्थितिले रोमाञ्चक बनाउनेछ भने मिथिला शर्मा, कमल राई, महेश गोदार प्रतिक्रियाले सबै प्रस्तुतिलाई गहिराईबाट केलाउनेछ। रियो छमछमी–३ का प्रतिस्पर्धीका लागि गम्भीर विष्ट, दीपेन्द्र शाही ठकुरीलगायतले कोरियोग्राफी गरिरहेका छन्। कार्यक्रम हरेक बुधबार राति ८ः४० बजे नियमित प्रसारण भइरहेको छ भने सोही दिन राति ११ः३० बजे र बिहीबार दिउँसो २ः२० बजे पुनःप्रसारण भइरहेको छ। रियो छमछमी–३ को प्रायोजन चौधरी गु्रपको उत्पादन पेय पदार्थ रियो जुसले गर्दै आएको छ। यसको चौथो र पाँचौं संस्करणका लागि समेत नेपाल टेलिभिजनसँग सम्झौता भइसकेको नेपाल टेलिभिजनका कार्यक्रम महाशाखा प्रमुख माधव कार्कीले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्