मुलुककै जेठो विद्यालयको कन्तबिजोग



ईश्वरराज ढकाल, काठमाडौं

मुलुककै जेठो विद्यालय दरबार हाइस्कुल पुनर्निर्माण हुने अनिश्चित भएको छ। चीन सरकारको लागतमा निर्माण हुने भनिएको उक्त विद्यालय काठमाडौं महानगरपालिका र पुरातत्त्व विभागले बखेडा निकालेपछि निर्माणको काम अनिश्चित भएको हो।

पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले नक्साको अन्तिम स्वीकृति नदिँदा निर्माणकार्य अलपत्र परेको सरोकारवाला निकायले बताएको छ। काठमाडौं महानगरपालिकाले मापदण्डअनुसार नक्सा निर्माण नभएका कारण तत्काल स्वीकृति दिन नसक्ने जनाएको छ। कामपा नक्सा महाशाखा प्रमुख रामबहादुर थापाले मापदण्डअनुसार नक्सा निर्माण गरेपछि मात्रै स्वीकृत दिन सक्ने स्पष्ट पार्नुभयो। भूकम्प प्रतिरोधी भवन निर्माण गर्नुपर्ने अवस्थामा हचुवाको भरमा डिजाइन बनाएकाले सोही नक्सा पास गर्न नसकिने उहाँको भनाइ छ। महाशाखा प्रमुख थापाले महानगरसँग नक्सा स्वीकृत गर्न आएपछि महानगरपालिकाको मापदण्ड पूरा गर्नैपर्ने बताउनुभयो।

पुरातत्त्व विभागले परम्परागत सामग्री प्रयोग गरेर पुनर्निर्माण गर्न मञ्जुर भएपछि मात्रै निर्माण स्वीकृति दिन सकिने जनाएको छ। विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले पुरानै सामग्री प्रयोग गर्ने कि नयाँ भन्ने विषयमा विवाद देखिएको बताउँदै यस विषयमा छलफल जारी रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘हामीले अध्ययन गरिरहेका छौं, केही दिनमा निर्णय गर्छौं।’ विभागले निर्णय गरे पनि महानगरपालिकाले नक्सा स्वीकृत नगर्दा निर्माण गर्न पाइँदैन।

विभाग र महानगरपालिकाले सहयोग गरेमात्रै नेपालकै पहिलो विद्यालय पुनर्निर्माण सम्भव छ। विभागले विद्यालयको अवस्थाबारे पुनः जानकारी लिन प्राविधिक टोली खटाएको छ। चीनको प्राविधिक टोलीले साढे ३ तले पुरानो भवन ४ तलासम्म बनाउने गरी ड्रइङ तयार पारेपछि दुवै निकायलाई निर्णय गर्न समस्या परेको हो। ठेकेदार छनोटदेखि सम्पूर्ण जिम्मेवार चीन सरकारकै हुने भएको छ।

उक्त भवन चीन सरकारको करिब १ अर्ब रुपियाँ लागतमा निर्माण हुने भएको छ। २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको सो विद्यालयका बालबालिका अहिले पनि टहरामा पढ्न बाध्य भएका छन्। हामीलाई विद्यालय पूर्णरूपमा तयारी भएपछि चिनियाँ पक्षले साँचो हस्तान्तरण गर्ने गरी जनवरी अन्तिम सातादेखि निर्माण शुरू गर्ने तयारी गरेको थियो।

शिक्षा मन्त्रालयअन्तर्गत गठित केन्द्रीय आयोजना कार्यान्वयन एकाइका कार्यकारी निर्देशक इमनारायण श्रेष्ठले विभाग र महानगरपालिकाले नक्सा स्वीकृति नगरेका कारण समस्या भएको बताउनुभयो। ‘चीन सरकारले बारम्बार निर्णय गर्न ताकेता गर्दै आएको छ। करिब २ महिनादेखि विवाद हँुदा समस्या बढेको छ। यही अवस्था हो भने चीनले हात झिक्ने चेतावनी दिइसकेको छ’ –निर्देशक श्रेष्ठले भन्नुभयो।

उहाँले चीनले तयार गरेको ड्रइङ डिजाइन विद्यालय प्रशासनलाई दिएको र विद्यालयले नक्सा पास गर्न महानगरपालिकामा पुग्दा महानगरपालिकाले नक्सा पास नगरिदिँदा समस्या भएको बताउनुभयो। चीनले पुरानै ढाँचाको डिजाइन तयार पारेपछि कतिपय विषय मापदण्ड विपरीत भएको विभाग र कामपाको आरोप छ।

विभागले स्वीकृत दिएपछि मात्रै कामपाले नक्सा स्वीकृत गर्ने कानुनी प्रावधान रहेको छ। विभागका महानिर्देशक भेषनारायण दाहालले सम्पदाको स्वरूप, पुरातात्विक र सांस्कृतिक क्षति नहुने गरी पुनर्निर्माण गर्न मिल्ने बताउनुभयो। दरबार स्कुलको एउटै भवनमा भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) र संस्कृत मावि सञ्चालन हँुदै आएका छन्। भूकम्पले ध्वस्त भएको करिब एक महिनापछि नेकपा माओवादी केन्द्र काठमाडौंका जिल्ला अध्यक्ष हिमाल शर्माको नेतृत्वमा टहरा बनाइएको थियो। शिक्षा मन्त्रालयले सो विद्यालयलाई शिक्षाको संग्रहालय बनाउने योजना अघि सारेको थियो तर स्थानीय र शिक्षासँग सरोकार राख्ने अन्यले विरोध जनाएपछि दरबार हाइस्कुल जस्ताको तस्तै बन्न लागेको हो। विसं १९१० सालमा स्थापित विद्यालय शुरूमा निःशुल्क पढाइन्थ्यो। २०३० को राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि जिल्ला शिक्षा कार्यालयअन्तर्गत सञ्चालन हुँदै आएको सो विद्यालय राणा प्रधानमन्त्री वीरशमशेरले राणा परिवारका छोराछोरीलाई मात्रै पढाउन स्थापना गरेका थिए। विसं १९९० सालको भूकम्पलेसमेत क्षति पुर्याएको सो विद्यालय जीर्ण बन्दै गएको थियो।

प्रतिक्रिया दिनुहोस्