दिदीबहिनी र दाइभाइलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
राणा दिदी–बहिनी मायांका र माहिकाले १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताअन्तर्र्गत यु–१८ गल्र्स डबल्सको उपाधि जितेका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा मायांका र माहिकाको जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गर्यो। सोही स्पर्धाको ब्वाइजमा वज्राचार्य दाइभाइको जोडीले उपाधि जित्यो। संरक्षकभूषण र सम्यकभूषणले फाइनलमा प्रणव खनाल र आदित सुवेदीको जोडीलाई ६–३, ६–४ को सीधा सेटमा हराएका हुन्। संरक्षक र प्रणवले आज यु १८ ब्वाइज सिंगल्समा उपाधिको लागि खेल्नेछन्। यस्तै गल्र्स सिंगल्समा मायांकाले प्रेरणा कोइरालासँग फाइनलमा आजै भिड्दैछन्। मायांका र संरक्षक दोहोरो उपाधि निकट छन्।

यस्तै डबल्समा उपाधिविमुख भए पनि यु १४ ब्वाइज र गल्र्स सिंगल्सको उपाधि क्रमशः आदित र अभिलाषाले हात पारे। आदितले निशान श्रेष्ठलाई ह्वाइट वास (६–०, ६–०) गर्दा अभिलाषाले इशाश्री शाहमाथि ६–४, ६–४ ले पन्छाएकी हुन्। यु–१० गल्र्स सिंगल्समा इभा अधिकारी पहिलो भइन्। इभाले फाइनलमा सुनिरा थापालाई ६–० र ६–३ ले पाखा लगाउदै सुनिरालाई दोहोरो उपाधिबाट विमुख गरिन्। सो स्पर्धाको ब्वाइज फाइनलमा आरभसम्राट हाडाले प्रणव मानन्धरलाई ६–० र ६–३ को सोझो सेटमा निराश पार्दै पहिलो भए। यसअघि यु ९ मा सुनीराले गल्र्स सिंगल्समा र ब्वाइज सिंगल्समा सक्षमविक्रम शाह पहिलो भएका थिए।

प्रतिक्रिया दिनुहोस्