ग्यास उद्योग सुरक्षित बनाऊ



वीरगन्जको सुपर ग्यास उद्योगमा बुधबार भीषण आगलागी भयो । सो आगलागीले उद्योगमा करोडौंको क्षति त पुर्यायो नै, उद्योग वरपरका बस्तीमा रहेका सर्वसाधारणसमेतलाई त्रसित बनायो । आगलागी नियन्त्रण गर्न गएको दमकलका केही कर्मचारी नराम्रोसँग जले । जलेकामध्ये दुईजनाको घटनास्थलमै मृत्यु भयो । केही घाइतेलाई उपचारका लागि काठमाडौं रिफर गरियो । आगलागी शुरु भएपछि उद्योग नजिकका बस्तीहरु जोखिममा परेकाले त्यहाँका बासिन्दाहरु आफ्ना वस्तुभाउ र अत्यावश्यक सामानसहित सुरक्षित स्थानतर्फ गएका थिए । बिहान झिसमिसेमा शुरु भएको आगलागी बेलुका ३ बजेतिर मात्र पूर्णरुपमा नियन्त्रण गर्न सकिएको थियो । अब यस्तै घटना अन्य ग्यास उद्योगमा पनि नहोला भन्न सकिन्न । त्यसैले सरकारसहित सम्बन्धित निकायहरु यस विषयमा संवेदनशील बन्नै पर्छ ।

खाना पकाउने ग्यासको सिलिन्डर चुहिएर र पड्किएर आगलागी भई सर्वसाधारणले ज्यान गुमाउनुपरेका समाचार बारम्बार आइरहेकै हुन् । यस्ता घटना पटक–पटक हुँदा पनि सरकार कडाइका साथ प्रस्तुत हुन नसक्दा ग्यास सिललिन्डर र यसको उद्योग सुरक्षित बन्न सकेन । ग्यास व्यवसायीबाट चरम लापरबाही हुँदा पनि सरकार उदासीन देखिएको छ । ग्यास भरिएका सिलिन्डर उपभोक्ताका भान्सामा पुगेपछि सो ग्यास नसकिउन्जेलसम्म उपभोक्ता त्रसित हुनुपर्ने अवस्था छ । तर सो ग्यास सकिएपछि पनि पुनः ग्यास भरिएको अर्को सिलिन्डर भान्सामा भित्रिन्छ । खाना पकाउनका लागि विकल्प नहुँदा ग्यास नै भित्र्याउनुपर्ने उपभोक्ताको बाध्यता हो । त्यसैले मापदण्ड पुगेको कुनै आधिकारिक प्रमाण नभएका पुराना र थोत्रा सिलिन्डरले उपभोक्ता सधैँ जोखिममा पर्ने गरेका छन् । उपभोक्ता मात्रै नभएर ग्यास उद्योगसमेत सुरक्षित हुन नसक्दा समस्या झनै चर्को भएको छ ।

अहिले वीरगन्जको सुपर ग्यास उद्योगमा आगलागी भयो । यसमा वारुण यन्त्रका दुई कर्मचारीले ज्यान गुमाए र केही घाइतेसमेत भए । अब अर्को ग्यास उद्योगमा यसै गरी दुर्घटना नहोला भन्न सकिन्न । यसले उद्योगनजिकका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति पुर्याउन सक्छ । उद्योग मात्र नभएर हरेक घरमा भएका र लगिने ग्यास सिलिन्डर पनि सुरक्षित छन् भन्न सकिँदैन । घरमा राखिएका ग्यासका सिलिलिन्डर चुहिने वा पड्किने भयो भने सो घर मात्र नभएर छिमेकका घरहरुसमेत ध्वस्त हुन सक्छन् । त्यसैले ग्यासजस्तो संवेदनशील पदार्थको प्रयोग, ओसारपसार, भण्डारण आदि कार्यमा हेलचेक्र्याइँ गर्नुहुँदैन ।

सरकारले हचुवाका भरमा ग्यास उद्योगहरु खोल्न दिने तर पछि अनुगमन नगर्ने, यदि अनुगमन गरिहाले पनि झारा टार्ने हिसाबमा गर्ने गरेकाले पनि यस्ता घटना भएका हुन् । जबसम्म ग्यासजस्तो संवेदनशील कुरामा सरकार कडाइका साथ प्रस्तुत हुँदैन तबसम्म घटना देहोरिइरहन सक्छ । हरेक उद्योगमा कडाइका साथ अनुगमन गरी मापदण्ड विपरीत भेटिएमा हदैसम्मको कारबाही गर्न सरकार पछि पर्नुहुँदैन । घटना न्यूनीकरणका लागि हरेक ग्यास उद्योगलाई व्यविस्थित र सुरक्षित बनाउनै पर्छ ।

प्रतिक्रिया दिनुहोस्