लिग हुने साइत जुरेन



फिरोज राजोपाध्याय

हाल बंगलादेशमा चलिरहेको यु–१५ साफ गल्र्स फुटबल च्याम्पियनसिपमा नेपाली चेलीले व्यहोरेको भारी गोलअन्तरको हार देशैभरि चर्चाको विषय बनिरहेको छ। आयोजक बंगलादेशसँग ६–० ले र भारतसँग १०–० ले हारेपछि नेपाली फुटबलमा यसको व्यापक नकारात्मक चर्चा भयो। छिमेकी देशसँगको फराकिलो गोलअन्तरको हारले धेरैलाई नेपाली फुटबलको स्तर गिर्दै गइरहेको आभाष गराएको छ। वर्तमान परिप्रेक्ष्यमा पुरुष फुटबलको स्तर नै ओरालो लागेको अवस्थामा महिला फुटबल नेपालमा कसरी उकालो लाग्ला भन्ने प्रश्न उब्जिएको छ।

हुन त नेपालमा पुरुष फुटबल व्यापकरूपमा प्राथमिकता परेको खेल हो। मोफसलमा हुने प्रतियोगितादेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म नेपाली पुरुष फुटबल टोलीले खेल्न पाइरहेको अवस्था छ। ए, बी र सी डिभिजन लिग पनि सञ्चालन पनि हुने गरेको छ। तर, महिला फुटबलको सन्दर्भमा भने नेपालमा त्यति प्रतियोगिता हुने गरेको छैन। विभागीय टोलीले प्रतियोगिता गर्नुबाहेक लिगसमेत महिला फुटबलको हकमा सञ्चालन छैन। यसैले पुरुष फुटबल नै ओरालोतिर लागिरहेको अवस्थामा महिला फुटबलको ताजा परिणामलाई स्वभाविक मान्नुको विकल्प पनि छैन।
नेपाली पुरुष फुटबलको मेरुदण्ड मानिएको ‘ए’ डिभिजन लिग नभएको झण्डै ४ वर्ष भइसकेको अवस्था छ। पछिल्लोपटक २०७० सालमा भएको लिगले अहिलेसम्म गति लिन सकिरहेको छैन। २०७२ सालमा महाभूकम्पले देशका मुख्यतः १४ जिल्लालाई तहसनहस गर्दा राजधानीमै रहेको दशरथ रंगशाला पनि अछुतो रहने कुरै थिएन। सोही बेला नै निर्माणाधीन रहेको रंगशालाको खुला प्याराफिटतर्फ हाल छत राख्ने काम भइरहेको छ भने पश्चिमतिरको प्यारफिट पुनर्निर्माण कार्य पनि जारी नै छ। यदि तत्काले लिग हुने मिति तय भइहाले भने पनि अझै दशरथ रंगशालामा खेलाउन सहज वातावरण बनिसकेको छैन।

भूकम्पको कारणले देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको रंगशालामा फुटबल प्रतियोगिता हुन नसकेको २ वर्ष नाघिसकेको छ। हुन त २०७४ साल शुरु भएलगत्तै लिग सञ्चालन गर्ने एन्फाले मिति तय गरेको थियो। शुरुमा वैशाख १५ देखि लिग शुरु गर्ने भनिएको थियो। त्यतिबेला प्रायोजकसँग कुरा नमिलेपछि लिग हुन नसकेको एन्फाका एक पदाधिकारीले स्पष्ट पारेका थिए।

त्यसपछि भाद्रमा लिगको हुने मिति तोकियो। तर, त्यो पनि बीचैमा तुहियो। साउन ३२ गते बसेको एन्फाको बैठकले १२ टोलीले सहभागिता जनाउने निर्णयसहित मंसीर १४ मा लिग गर्ने ठोकुवा गर्यो। तर, त्यो पनि चुक्यो। पहिलो त उनीहरु लिगमा थ्री–स्टारलाई भित्त्याउन खोजिरहेका थिए। थ्री–स्टार क्षतिपूर्ति नलिइकन कुनै फुटबलमा नफर्कने पहिलेकै अडानमा थियो।

यसपटक भने लिग नहुनुको कारण थियो मंसिर २१ गते सम्पन्न आम निर्वाचन। निर्वाचनकै कारण लिग नभएको एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताउनुभएको थियो। तर, अध्यक्ष श्रेष्ठले छिटै नै बैठक बसेर र लिगको मिति पुनः तय गर्ने स्पष्ट पारिसक्नुभएको छ।

तर, उहाँले भनेअनुसार अहिलेसम्म पनि बैठक राख्न सक्नुभएको छैन। लिग गराउनका लागि एन्फाले लिगमा खेल्ने सबै क्लबलाई बैठकमा बोलाउनुपर्ने हुन्छ। अहिलेसम्म बैठक नहुनुले लिग हुनेमा अन्योलता अझै बढिरहेको छ। लिग नहुनु भनेको नेपाली फुटबलको मेरुदण्ड नै कमजोर बन्नु हो। जति लिग आयोजना गर्न ढिलो हुन्छ त्यति नै खेलाडीमा निराशा छाउनुदेखि पलायनसम्मको अवस्था सिर्जना हुने गर्छ। तसर्थ खेलाडीको भविष्य सुनिश्चित गर्न एन्फाले शीघ्रभन्दा शीघ्र लिग गराउनेतिर अग्रसर हुनुपर्दछ। होइन भने अन्तर्राष्ट्रिय खेलमा दर्जनौं गोल बेहोर्ने नियतिलाई स्वभाविक मान्नेबाहेकको विकल्प रहँदैन।

बहुदलपछि लिग निरन्तरतामा उतारचढाव
बहुदलपछि नेपालमा ‘ए’ डिभिजन लिग निरन्तरतामा उतारचढाव आएको देखिन्छ। इतिहास पल्टाउने हो भने पञ्चायतको समयमा लगातार लिग सञ्चालन भएको देखिन्छ। त्यसपछि नेपालमा प्रजातन्त्र आयो, गणतन्त्र आयो, कयौं प्रधानमन्त्रीले शासन गरे तर परिवर्तित राजनितिक व्यवस्थाअनुसार खेलकुद भने कछुवाको गतिमै सीमित बनेको छ। जसको एक अंगको रूपमा लिग प्रतियोगिता आयोजनालाई पनि मान्न सकिन्छ। २०४६ को अन्तमा नेपालमा पञ्चायत ढल्दै बहुदल शासन आयो। त्यसपछि नेपाली खेलकुदमा पनि क्रान्ति हुने आशा गरिएको थियो। जसको पहिलो प्रभाव नेपालकै सर्वाधिक लोकप्रिय खेल फुटबलमा देखिनुपर्ने थियो। तर, अहिले त्यस्तो हुनसकेको छैन। बहुदल आएको पहिलो वर्षदेखि नै लिग सञ्चालनमा आएन। २०४७ देखि २०७४ सम्म गरी २७ वर्षमा कुल १२ पटक मात्र लिग प्रतियोगिता आयोजना भएको छ। यसको स्पष्ट रूपरेखा आँकडामा पनि हेर्न सकिन्छ।

थ्री–स्टारले क्षतिपूर्ति पायो
‘ए’ डिभिजनको थ्री–स्टार क्लबले बल्ल क्षतिपूर्तिको एक अंश रकम प्राप्त गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५० लाख उपलब्ध गराएकोमा अब १ करोड अझै थ्री–स्टारले लिन बाँकी छ। गत वर्ष एएफसी एसियन कपमा एन्फाका केही पदाधिकारीका कारण थ्री–स्टारले खेल्न नपाएपछि क्लबले क्षतिपूर्ति माग गरेको थियो। जसमा पहिले ६ करोड रुपियाँ माग गरेकोमा पटक–पटकको छलफलपछि ललितपुरे क्लबले १ करोड ५० लाख रुपियाँ लिन स्वीकार गरेको थियो।
यो पूरै रकम गत मंसिर १० गतेसम्म दिनुपर्ने थियो। तर, झण्डै ३ सातापछि एन्फाले ५० लाख थ्री–स्टारलाई दिएको छ। यो रकम प्राप्त गर्नावित्तिकै क्लबले तयारी पनि शुरु गरेको छ। यस विषयमा क्लबका कार्यवाहक अध्यक्ष अरुणमान जोशीले अब क्लबले प्रतियोगिताहरु खेल्ने बताउनुभयो। यसअघि रकम प्राप्त नगरेसम्म कुनै पनि खेलमा भाग नलिने क्लबको अडान थियो। यसैअनुरूप क्लबले १ वर्षसम्म कुनै पनि मोफसल प्रतियोगितामा सहभागिता जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्