ग्याँस उधोगमा भीषण आगलागीपछि के भयो ?



कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्जको महानगरपालिकाभित्र रहेको सुपर ग्यास उद्योगको प्लान्टमा लागेको भीषण आगलागी करिब आठघण्टापछि नियन्त्रणमा आएको छ ।
वीरगन्ज १८ भवानीपुरमा रहेको उद्योगमा बुधबार बिहान ६ बजेदेखि ग्यास भण्डारण ट्याङकीबाट ग्यास लिक भइ आगलागी सुरु भएको हो। आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाबाट परिचालित दमकल पनि जलेको ध्वस्त भएको छ । घटनामा परी महानगरपालिकाका आगो नियन्त्रक मधुसुदन मिश्र र यादव प्रसाद अधिकारीको मृत्यु भएको हो । दमकल सहित आगो निभाउन सुपर ग्याँसको मुल ढोकामा पुगेर पानी निकाल्नेक्रममा अचानक ग्याँसको एउटा प्लान्ट नै बिस्फोट भएर उनीहरुको घटना स्थलमा नै जलेर ज्यान गएको मेयर बिजय सरावगीले जानकारी दिए । घटनामा परी गम्भीर घाइते कामदार अमिका पटेल र सुरक्षा गार्ड सन्दिप नेपाललाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट पनि जलेर नष्ट भएका छन्। ग्यास बुलेटबाट प्लान्टमा सार्ने क्रममा लिक भइ आगलागी भएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शान्तिकुमार कार्की बताए। उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर मात्रै रहेकाले पनि भीषण आगलागी भएका कारण स्थानीय त्रसित बनेका थिए। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका थिए । प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको थियो । ग्यास बुलेट पड्किएको आवाज परेसम्म सुनिएको थियो । प्लान्ट जलेर निस्किएको धुँवाले आसपासको क्षेत्र समेत ढाकेको थियो।
दिउसो २ बजे आगो नियन्त्रणमा आएपनि त्रासका कारण स्थानीयहरु भने घरमा फर्कन सक्ने अवस्थामा नरहेको स्थानीयहरुले बताएका छन् । फेरिपनि कुनै बेला आगालागी हुन सक्ने त्रास स्थानीयहरुमा रहेको छ । आगो नियन्त्रणका लागि खास प्रबिधि नभएका कारण समयमा आगो नियन्त्रणमा लिन कठिनाइ परेको पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रताप सिंहले बताए । आगो सुरक्षाकर्मीको प्रयासमा नियन्त्रणमा लिइएको भएपनि आगो आफै नियन्त्रणमा आएको कतिपयले दाबी गरेका छन् । भीषण आगलागी र उधोगमा रहेका बिभिन्न प्लान्टका कारण वरपरी आगो नियन्त्रणका लागि जाने सक्ने अवस्था नै नरहेका कारण आयो स्वतः नियन्त्रणमा आएको हो। यद्यपी सुरक्षाकर्मीहरुले भने आफूहरुले आगो नियन्त्रणमा लिएको दाबी गरेका छन् । वीरगन्ज महानगरपालिकाको बारुणयन्त्र नै जलेर खरानी भएपछि भारतको बिहार स्थित रक्सौलबाट थप दमकल आगो निभाउनका लागि आएपनि उसले समेत डरका कारण आगो निभाउन नसकेको प्रत्यक्षदर्शीहरुले बताए ।
सात वर्ष पहिले सुरु भएको उद्योग अवुलेश अन्सारीको हो। अवुलेश वीरगन्ज हेल्थ केयर हस्पिटलका सञ्चालक पनि हुन्। आगलागीबाट आफ्नो सर्वश्व गुमेको अंसारीले बताएका छन् । उनले आफ्नो अबौं क्षति भएको र करोडौंको नोक्सानी भएको भन्दै क्षतिको विवरण संकलन कार्य जारी रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्