मेची पुलको निर्माण एक महिना भित्रै



उत्तम नेपाल, भद्रपुर । भारतीय सीमावर्ती नाकासंग जोड्ने झापाको भद्रपुरस्थित मेची नदीमा निर्माणाधिन पक्की पुल अबको एक महिना भित्र निर्माण सम्पन्न हुने भएको छ ।
बहुप्रतिक्षित मेची पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको हो । नेपाल सरकारले बजेट निकासा गरेपछि वि.स. २०६६ माघ २१ गतेदेखि मेची पुल निर्माण कार्य सुरु गरेको हो । तीन बर्षमा निर्माण कार्य सम्पन्न हुनुपर्ने मेची पुल ९ बर्षपछि बल्ल बन्न लागेको छ । लगभग ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेकोले अव दुई महिनामा पुल तयार हुने छ । एक बर्षअघि नै १७ पिलर मध्ये १५ वटा पिलरसहित पुलमाथिको ढलान पुरा भइसकेको छ । निर्माणाधिन अवस्थामा पुलको १० र ११ नम्बरको पिलर माटो मुनि धसाउने क्रममा बाङ्गिएको थियो । सो पिलरमा अहिले धमाधम काम भइरहेको कन्ट्रक्सनका इन्जिनियर सुरेन्द्र खतिवडाले बताए । इन्जिनियर खतिवडाले भने, ‘दुई वटा पिलर उठाउने काम सम्पन्न भइसकेको छ, ‘अहिले पिलर माथि तयारी अवस्थामा रहेको गडर क्रेनको सहयोगमा चढाउने काम हुदैछ ।’ ‘११ वटा गडर चढाइसकेका छौ अव एउटा गडर उठाउन बाँकी छ, उनले भने– ‘चढाएको गडर माथि रड बुन्ने काम तिव्र पारेका छौ, केही दिनभित्र त्यसमाथि ढलान गर्ने छौ ।’ १०५ मिटर मात्र निर्माण कार्य बाँकी रहेकाले यही माघ मसान्त सम्म पुलको काम सम्पन्न भइसक्ने उनको दावी छ ।
निर्माणधिन अवस्थामै पिलर नम्बर १० र ११ माटोमा धसाउने क्रममा २५ सिएम (टिल) बाङ्गिएको थियो । माटो परिक्षणको गलत रिपोर्टका कारण यस्तो हुन गएको निर्माण कम्पनीले जनाएको छ । पिलर बाङ्गिएपछि गत २०७२ फागुनमा सडक विभाग र हुलाकी राजमार्ग आयोजनाका इन्जिनियर सहितको टोलीले बाङगिएको पिलरलाई रि–डिजाईन बनाउन स्थलगत अनुगमन गरेर गएका थिए । विभागका इन्जिनियरले स्थगलत अनुगमन गरेर गएपनि लामो समय सम्म आधिकारीक पत्र कम्पनीलाई प्राप्त भएन । स्थानीय र राजनीतिक दलको चर्को दवाव पछि सडक विभागले २०७४ साल बैशाख २९ गते रि डिजाइनको आधिकारीक पत्र कम्पनीलाई पठाएको थियो । पत्र पठाएको केही दिनमै निर्माण कार्यले तिव्रता लिएको कन्ट्रक्सनका इन्जिनियर खतिवडाले बताए ।
मेची पुलको निर्माण कार्य माघ मसान्त सम्म सम्पन्न हुने भएपनि पुल जोड्ने सडक निर्माण कार्यमा ढिलासुस्ती भइरहेको छ । पुलको पूर्व पट्टि अर्थात भारतीय भुमि (१०३ नम्बर सीमा पिलरसंग) जोड्ने सय मिटर सडक र पश्चिम पट्टि १ सय ८० मिटर लम्बाई र ३० मिटर चौढाई भएको सडकको निर्माण पुल कम्पनीले निर्माण गर्नुपर्ने हुन्छ । पूर्व पट्टि भारतको बंगाल तथा विहार राज्य पर्ने भएकोले सो सडकलाई विहार सरकारले जोडेर विस्तार गर्ने योजना अघि बढिसकेको छ । विहार सरकारले सो सडक जोड्नलाई सडकको अनुगमन गरेर ३६० मिटर सडक निर्माणको लागि टेण्डर प्रक्रियामा गइसकेको बुझिएको छ । तर, नेपालको भद्रपुर जोड्ने सडक निर्माण गर्न स्थानमा बसोबास गर्दै आएका नगरबासी र सरकारी भौतिक संरचना अहिले सम्म खाली गराइएको छैन । जमिन खाली गराउन ८ करोड रकमको आवश्यक देखिएको छ । भौतिक संरचना हटाउन जमिनको लागि मात्र साढे पाँच करोड र घरको मुल्याकंन गर्दा करिब साढे २ करोड रकम आवश्यक रहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार सडकमा पर्ने २२ घरपरिवारलाई जमिन वापत ४ करोड वितरण गरिसकेका छौ । जमिनको साढे एक करोड र भवनको गरी अझै साढे तीन करोड रकम आवश्यक देखिएको छ । यसको अध्ययन गरी आधिकारीक पत्र सडक विभागमा पठाइसकेका छौ । अव सडक विभागले अर्थ मन्त्रालयसंग रकम माग गरेर पठाएपछि अनि मात्र सडकको काम सुरु हुने उनले बताए । भर्खरै निर्वाचन सम्पन्न भएकोले रकम केही प्राप्त हुने भन्ने बिषयमा सडक विभागमा पनि अन्यौलमा रहेको उनको भनाई छ ।
पूर्वी काकँडभिट्टा नाकापछि झापाको दोस्रो नाकामा भद्रपुरमा पर्छ । विहार तथा बंगालसहित बंगलादेश जान समेत यस नाकाबाट दुरी छोटो पर्ने भएकोले यस नाकाको छुट्टै विशेषता छ ।

यस नाकामा पर्ने मेची नदीमा पक्की पुल बनाउनु पर्ने भन्दै सात दशकदेखि यहाँका जनताले माग उठाउदै आएको थियो । बल्ल जनताको सपना पुरा हुन लागेको छ । बर्खाको चार महिना नेपाल तथा भारत दुवै देशका नागरिक आफ्नो ज्यानको जोखिम मोल्दै डुङ्गाको प्रयोग गरेर आवतजावत गर्न बाध्य छन् । बर्खा सकिन साथ मेची नदीमा बनाइँदै आएको अस्थायी बाँसे पुलको सहयातामा पनि सर्वसाधारण आवतजावत गर्ने गर्छन । नदीमा अस्थायी बाँसे पुल बनाएकोे पनि १५ बर्ष भन्दा बढी भइसकेको छ । केही बर्ष भद्रपुर नगरपालिकाले सर्वसाधारणको सेवासुविधालाई मध्यनजर गर्दै बाँसे पुलबाट आवतजावतलाई निशुल्क बनाएको थिए । तर, यसबर्ष नगरपालिकाले सर्वसाधरण बाहेक अन्य सवारीसाधन र सरसमानबाट शुल्क उठानका लागि ठेक्का नै दिएको छ । नाकामा भद्रपुर छोटी भन्सार रहेकोले त्यतिकै मात्रामा भारतबाट सरसामान पनि राँगा गाढाको प्रयोग गरेर नेपाल आयात हुने गरेको छ ।
तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्ष भित्र पुल निर्माण हुने दावी गरेका थिए । तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर बल्ल ९ बर्ष पूरा हुन लागेको छ । भारतको बंगाल तथा बिहार राज्यसंग जोडिने पुलको कुल लागत करिब ३३ करोड रहेको छ । पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ११ मिटर छ ।

प्रतिक्रिया दिनुहोस्