बाँकेमा पाठेघर समस्या अधिक



कुमार श्रेष्ठ, बाँके । जिल्ला जनस्वास्थ्य कार्यालय, बाँकेले गतवर्ष साविकका पाँच गाविसमा पाठेघरको शिविर आयोजना ग¥यो । शिविरमा एक सय ९६ जना आए । पाठेघर समस्याको जटिल अवस्था (तेस्रो चरण) मा पुगेका ४४ जना फेला परे ।
जटिल अवस्थामा पुगेकाहरुलाई भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा निशुल्क अप्रेसनका लागि बोलाइयो । भेरीमा आएर ४४ जनामध्ये चार जनाले अप्रेसन गरेको जनस्वास्थ्य कार्यालयसँग ‘रेकर्ड’ रहेको छ । कार्यालयकी पब्लिक हेल्थ नर्स अधिकृत सरिता चन्दले जिल्लामा पाठेघर खस्ने समस्या अधिक रहेपनि कार्यक्रम नहुँदा समेट्न नसकेको बताउनुभयो ।
बेतहनीमा ६०, रनियापुरमा ४६, कालाफाँटामा ३१, बेलभारमा ३० र बैजापुरमा २९ जना पाठेघर समस्याका महिला भेटिएका थिए । बाँकेमा मधेसी–मुस्लिम बाहुल्य गाउँमा पाठेघरको समस्या अझ बढी देखिएको छ ।
सानै उमेरमा बच्चा जन्माउने, थोरै जन्मान्तरमा धेरै बच्चा जन्माउने, दक्ष स्वास्थ्यकर्मीसँग बच्चा नजन्माउनु, बच्चा जन्माउदा जथाभावी पेट थिच्नु, बच्चा जन्माइसकेपछि कम्मरमा बेस्सरी पटुका बाँध्नु, सुत्केरी अवस्थामा गहु्रंगो काम गर्नु, आरामको कमी र कुपोषणले गर्दा पाठेघर खस्ने समस्या हुने गरेको छ ।
सुत्केरी मृत्युदरमा देशभरमै अगाडि रहेको जिल्लामा अहिलेसम्म गाउँगाउँमा पाठेघरको परीक्षण हुन सकेको छैन । जनस्वास्थ्यकी पब्लिक हेल्थ अधिकृत चन्दले बजेट अभावले गर्दा सबै ठाउँमा पुग्न नसकेको बताउनुभयो । स्वास्थ्यको बजेट अब गाउँपालिकामा रहने भएकाले त्यहाँबाट छुट्याउन लगाएर कार्यक्रमहरु गर्नुपर्नेमा चन्दको जोड थियो ।
अभियान नेपालले बुधबार नेपालगञ्जमा आयोजना गरेको आङ खस्ने सवाल र यौन तथा प्रजनन अधिकार विषयक अन्तरक्रियामा पाठेघरको अप्रेसन गर्नु अघिको उपचारको रुपमा लिइने रिङ पेसरी राख्ने कुरालाई निशुल्क र स्वास्थ्य चौकीमा त्यसलाई राख्न सक्ने दक्ष जनशक्ति राख्नु पर्नेमा जोड दिइएको छ ।
देशका विभिन्न जिल्लामा पाठेघर समस्याका सवालमा कार्यक्रम गर्दै आएको वातावरणीय कृषि तथा विकास केन्द्र (केड) की ईश्वरी नेपालले आङ खस्ने समस्या ४० वर्षमाथिका र पहाडमा मात्रै धेरै छन् भन्ने कुरा गलत भएको बताउनुभयो । उहाँले किशोरीमै र तराई, पहाड सबै ठाउँमा उत्तिकै जोखिम रहेको बताउनुभयो ।
केडले विभिन्न ठाउँमा गरिएको शिविरमा आएका पीडित महिलाको तथ्यांकलाई औसतमा निकाल्दा देशमा २५ प्रतिशत महिलामा यो समस्या रहेको दावी गरेको छ । ‘हामीले नै कपिलबस्तुमा गरेको शिविसमा ३७, सिराहमा ३७ र जाजरकोटमा २० प्रतिशत महिला फेला पा¥यौं, केडका प्रशिक्षक राम भट्टराईले भन्नुभयो ।

सरकारले २०७२÷०७३ मा ४६ हजारको अप्रेसन गरेको छ । यही साल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाले ३० हजार जनाको पाठेघरको अप्रेसन गरेको तथ्यांक रहेको छ । ‘यसलाई हेर्दा देशमा यो समस्या विकराल रहेको देखिन्छ, केडकी प्रशिक्षक नेपालले भन्नुभयो । उहाँले पछिल्लो समयमा गर्भपतन गराउने होडले पनि पाठेघर खस्ने समस्या बढेको छ ।
अभियान्ताहरुका अनुसार, पाठेघरको समस्या रहेकी महिलालाई समाजले बहिष्कार गर्ने, श्रीमानले अर्को श्रीमती ल्याउने तनाव रहने समस्या देखिएको छ । अभियान नेपालकी सपना भट्टराईले नीतिगत पैरवी, गाउँगाउँमा सचेतना फैलाउने, स्थानीय निकायका सरोकारवालासँग बजेटका लागि लबिङ गरिरहेको बताउनुभयो ।
अभियान नेपालले पाठेघर समस्याका बारेमा जिल्लाका विभिन्न सरोकारवालासँग अन्तरक्रिया गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्