पुरुषमाथि घरेलु हिंसा, पिडित बढेको बढ्यै



हेटौंडा । करिब ५ वर्षअघि हेटौंडा–६, गौरीटारका हरिप्रसाद रेग्मी नेपालमा काम नपाएपछि रोजगारीका लागि आफ्नी डेढ वर्षकी छोरी र पत्नीलाई छाडेर मलेसिया गए । उनले त्यहाँ डकर्मी काम गर्थे । आफूले घरपरिवार सम्झेर दुःख नभनी पसिना बगाएर गरेको ५ वर्षको मेहनत बेकार भएको उनी बताउँछन् । उनले त्यहाँ काम गर्दा महिनाको ६० हजार जति कमाउँथे ।
उनी घरमा पैसा पठाइदिन्थे । पत्नीले घर राम्ररी चलाएकी होलिन् भनेर ढुक्क हुन्थे उनी । कहिलेकाहीं फोनमा पनि सुनाउने गर्थिन्–मैले यो जोडेको छु, त्यो किनेको छु । उनी भन्छन्– ५ वर्षपछि घर फर्कंदा एउटा उमंग थियो । धेरैपछि पत्नी र छोरीसहित परिवारलाई भेट्न म एकदम आतुर थिएँ । तर, घर पुग्दा छानाबाट खसेजस्तै भएँ, सपनामा छु कि जस्तो लाग्यो ।
घर पुग्दा न छोरी थिइन् न त पत्नी । २ दिनअघि मात्र फोनमा कुरा भएको थियो पत्नीसँग । ‘म तपाईंको प्रतीक्षामा छु भन्थिन् । तर, होइन रहेछ । उनी एक महिनाअघि नै मैले नचिनेको व्यक्तिसँग छोरी लिएर भागेको खबर पाएँ,’ उनले भने ।
पत्नीले न कुनै सामान जोडेकी थिइन् न त केही काम नै गरेर पैसा जोगाएकी थिइन् । उनी उल्टै घरमा भएका सामान पनि लिएर गइन् । ‘मैले कमाएको पैसा सबै खोलामा बगाएजस्तो लाग्यो । कम्तिमा २० लाख पठाएको थिएँ,’ उनले भने– उनलाई खोज्ने धेरै प्रयास गरेर भेटें । तर, उनी आउन चाहिनन् ।
हामी समाजमा पतिले पत्नीमाथि हिंसा गरेको सुन्दै र देख्दै आएका छौं । तर, पत्नीबाट पतिमाथि हुने हिंसाका घटना र अवस्थाबाट बेखबर छौं । समाज हालसम्म महिला हिंसाको आवाज उठाउँदैछ । महिलालाई सम्मान गर्न र हिंसामुक्त राख्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । हाम्रो मनले सोच्छ कि महिलामात्र पर्छन् हिंसामा । ठाउँ र परिस्थिति हेर्ने हो भने पुरुषमाथि पनि महिलाले हिंसा गरेको देखिन्छ ।
वैदेशिक रोजगारीमा गएका पुरुष बढी हिंसामा पर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा मंगलबार भेटिएका एक युवक भन्छन्–पतिले पत्नीमाथि गरेका हिंसाको मुद्दा लिएर जहाँ गए पनि उनीहरुको मुद्दाको सुनुवाई हुन्छ । प्रहरी÷प्रशासनले जाहेरी लिन्छ, सहानुभूतिका शव्द महिलाले पाउँछन् । तर, त्यही प्रकारका घटना पतिमाथि परेको रहेछ भने त्यस्ता घटना सार्वजनिक गर्न सजिलो हुँदैन ।
समाजले के भन्ला ? घरपरिवारका सदस्यले के भन्लान् ? साथीबीच कस्तो प्रभाव पर्ला भन्ने संकोच बढ्छ । प्रहरी÷प्रशासनको सहारा खोज्न जाँदा पनि लोग्नेमान्छेका मुद्दामा त्यति साह्रो संवेदनशील भएको पाइँदैन, जति महिलाको मामिलामा हुन्छन् भन्छन् । उल्टै–एउटी स्वास्नी पनि मिलाएर राख्न नसक्ने ‘नामर्द’ भन्ने जस्ता लाञ्छना खेप्नुपर्छ ।
‘यस्तो अवस्थामा पुरुषविरुद्ध हिंसा भयो कि भएन ? पुरुषमाथि हुने हिंसाका घटनाबारे सुनुवाई हुनुपर्छ कि पर्दैन ?,’ उनले पीडा पोखे–पतिले घरपरिवारको खुशीका लागि अर्काको मुलुकमा पसिना बगाउँछ । तर, पतिको रगत÷पसिनाको कमाइमा रमाउँदै पत्नी अर्कैसँग भाग्छे । यस अवस्थामा पतिले भोगेको मानसिक पीडाको क्षतिपूर्ति के हुन्छ ? यो पुरुषमाथि गरिएको बेइमानी होइन ?
बालबच्चाको बिचल्ली हुन्छ । समाजले उल्टै पतिलाई प्रश्न गर्छ– स्वास्नी यस्ती छ भन्ने थाहा पाउँदापाउँदै किन उसैलाई पोषिस् ?
वैदेशिक रोजगारीका लागि गएका करिब एक चौथाई पुरुषको हालत यस्तो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले बताउनुभयो । महिलाका लागि जुन अधिकारहरु दिइएका छन् र कानुन बनेका छन्, हालको अवस्थामा ती हक÷अधिकार दुरुपयोग भइरहेको खनालको दाबी छ ।
प्रउ खनालका अनुसार केही दिनअघि अर्को घटना आयो । वैदेशिक रोजगारीका लागि गएका एक युवककी पत्नी आफूभन्दा निकै कान्छा व्यक्तिसँग अनैतिक सम्वन्ध राख्छिन् । महिलाले आफ्ना ४ छोराछोरी र पतिलाई छाडेर उहीसँग विवाह गर्ने कुरा आयो । ‘यो पुरुष हिंसाको एक उदाहरण हो,’ खनालले भन्नुभयो ।
जिल्ला प्रहरीमा आर्थिक वर्ष २०७४÷०७५ को हालसम्म पुरुष हिंसाका १२ वटा उजुरी परेको छ । जसमा वैदेशिक रोजगारीका लागि गएका युवाको उजुरी बढी रहेको प्रहरीले जनाएको छ ।
देशमा रोजगारी नभएर वैदेशिक रोजगारीको बाटो रोज्नुपर्ने कारण मुख्य भएकोले यसका लागि सरकारले गम्भीररुपले सोच्न जरुरी रहेको खनालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्