हनुमानढोका क्षेत्रमा जथाभावी पार्किङ, महानगर मौन



काठमाडौँ, सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ ।

सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन् ।

वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहान ८ बजेसम्मको समय तोकेको छ, तर आजभोलि त्यस क्षेत्रमा दिउँसै यस्ता सवारी साधन बग्रेल्ती दौडिरहेको पाइन्छ ।

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षतविक्षत बनेको वसन्तपुर दरबार क्षेत्र यतिबेला पुनःनिर्माण हुँदैछ । भग्नावशेष जताततै छरपस्ट छ, र यस्ता महत्वपूर्ण पुरातात्विक ऐतिहासिक सामग्रीको सुरक्षामा समेत यसले चुनौती थपेको छ । पुनःनिर्माणको बहाना पारेर अहिले परिसरभित्रका सुरक्षा निकाय, कर्मचारी र स्थानीयवासीका सवारी साधन परिसरभित्र राख्ने गरेको देखिन्छ ।

जथाभावी ट्याक्सी, रिक्सा पार्किङ र व्यापारको नाममा पर्यटकलाई आफ्नो सामान बिक्री गर्न पछिपछि लाग्नुले पर्यटकलाई असुविधा हुनाका साथै सो क्षेत्रको सौन्दर्य कुरुप बनेको छ ।

वसन्तपुरका स्थानीय विजयरत्न खड्गी पहिले वसन्तपुर परिसरमा सवारी लैजान पासको व्यवस्था भए पनि अहिले सुरक्षा निकाय र कर्मचारीका सवारी साधन जथाभावी प्रवेश भइरहेको बताउनुहुन्छ । “विशिष्ट महत्व बोकेका असन, इन्द्रचोक र काष्ठमण्डपभित्रको अव्यवस्थित पार्किङ हटाउने काम सरकारको हो”, उहाँले भन्नुभयो ।

वसन्तपुर क्षेत्रमा प्रवेश गर्न पाँचवटा प्रवेशद्वार छन् । एक नम्बर प्रवेशद्वार जुद्ध शालिक, दुई नम्बर प्रवेशद्वार झोँछे, तीन नम्बर काष्ठमण्डप, चार नम्बर प्याफल र पाँच नम्बर प्रवेशद्वार मखन हो । उक्त पाँचवटा प्रवेशद्वारभित्रको स्थान सवारी निषेधित क्षेत्र हो ।

काठमाडौँ महानगरपालिकाले दरबारको संरक्षणका लागि निर्माण गरेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रशासकीय अधिकृत चीन बज्राचार्य परिसरभित्र सवारी प्रवेश रोक्नका लागि महानगरले नगर प्रहरी र सुरक्षागार्डको प्रयोग गरेको बताउनुहुन्छ ।

“मेरो घर, अफिस भित्र हो भनेर नगर प्रहरीलाई झुक्याएर मानिसहरु सवारी साधनसहित परिसरभित्र प्रवेश गराइरहेका छन्”, उहाँले गुनासो गर्नुभयो ।

बाहिर पार्किङको समस्या रहेको कारण देखाउँदै मानिसले परिसरभित्र सवारी ल्याउने गरेको उहाँको भनाइ छ । बज्राचार्यले ट्राफिक प्रहरी नहुँदा नगर प्रहरीलाई कर्मचारी र सुरक्षाकर्मीले नटेर्ने गरेको गुनासो पोख्नुभयो ।

विसं २०६६ मा परिसरभित्र छिर्ने सवारी साधनलाई दिउँसो प्रवेशमा पूर्णरुपमा निषेध गरिएको थियो । तर अहिले बलमिच्याइँ गरी निर्वाध प्रवेश भइरहेका छन् । सरकारले हनुमानढोका दरबार परिसरसँगै पाटन र भक्तपुर दरबार क्षेत्रमा समेत सवारी साधन आगमनमा रोक लगाएको थियो ।

हनुमानढोका दरबार परिसरभित्र राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका ऐतिहासिक भवनहरु छन् । साथै, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक रहेका छन् । त्यसैले पनि उक्त क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो ।

संरक्षण कार्यक्रमले विभिन्न गुठीसँग सहकार्य गरेर भूकम्पले क्षति पु¥याएका वसन्तपुर क्षेत्रभित्र रहेका कंकेश्वर मन्दिर, अशोक विनायक गुठी घरको छानो, मखन पशुपतिनाथ मन्दिरको भजन घरको छानो, नगरा बाजा राख्ने ठाउँ र सिंहासत्तल निर्माण गरिरहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्