बदर मतले उब्जाएको प्रश्न



निर्वाचनलाई प्रभावकारी र सफल बनाउन मतदाता शिक्षाको अहम् भूमिका हुने गर्दछ । मतदाता शिक्षाले निर्वाचनलाई कर्मकाण्डी मात्र नबनाई मतको सैद्धान्तिक महत्व र मतदाताको चेतनास्तर बढाउन पनि भूमिका खेलेको हुन्छ । यस्तो महत्वको विषयलाई निर्वाचन आयोगले लगातार कर्मकाण्डीरुपमा हचुवाको तरिकाले लिँदै आएको पाइएको छ । सन्र्दभ हो, समानुपातिकतर्फको खसेको कुल मतको झन्डै १० लाख मत बदर हुनु ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ ७७ वटै जिल्लामा समानुपातिकको मतगणना सकिएको छ । आयोगका अनुसार समानुपातिकतर्फ खसेको कुल मतमध्ये ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको छ । खसेको कुल मत १ करोड ५ लाख ८७ हजार ५ सय २१ थियो । खसेको कुल मतको ९ दशमलव ८५ प्रतिशत मत अर्थात् १० लाख मत खेर गएको छ । प्रत्येक मतदाताको हरेक मत महत्वपूर्ण हुन्छ । त्यसैले यो सदर हुनु उत्तिकै जरुरी रहेको छ । अद्यावधिक निर्वाचन भनेको लोकतन्त्रको महत्वपूर्ण प्राण हो । मतदाताको सुझबुझपूर्ण मतले निर्वाचनलाई कर्मकाण्डी र औपचारिकतामा सीमित नगरी लोकतन्त्रको अभ्यासलाई बलियो बनाउँछ । यस अर्थमा १० लाख मत खेर जानुले निर्वाचन शिक्षा अप्रभावकारी र औपचारिकतामा मात्र सीमित भएको स्पष्ट हुन्छ ।

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्बको हाराहारीमा खर्च गरे पनि ठूलो परिमाणमा जनताको अमूल्य मत खेर गइरहेको छ । सही रूपमा मतदान गर्ने तरिका थाहा नपाउँदा हालिएको मत बदर भएको हो । लाखौं मत बदर भएपछि यसका लागि खर्चिएको रकमको प्रभावकारितामाथि प्रश्न उठेको छ । आयोगले निर्वाचन शिक्षाको नाउँमा राज्यमा पहुँच भएका उही टाठाबाठालाई पोस्ने काम त कतै गरेको होइन र ? भन्ने प्रश्न उब्जिएको छ । यसअघि स्थानीय तहको निर्वाचनमा झन्डै ११ प्रतिशत मत बदर भएको थियो । त्यसबाट सिक्दै आयोगले बेलैमा मतदाता शिक्षा सञ्चालनका लागि हजारौं कर्मचारी नियुक्त गरी खटाएको बताएको थियो । आयोगले मतदाता शिक्षाको नाउँमा खर्चिएको करोडौं रकम बालुवामा पानी खन्याएसरह भएको छ । आयोगले यसलाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्दछ ।

मतदाता शिक्षामा जोड दिन नसक्ने हो भने लोकतन्त्रको सही पद्धतिका रुपमा मानिएको निर्वाचन औपचारिकतामा मात्र सीमित हुनेछ । हाम्रो जस्तो देशमा इलेक्ट्रोनिक मतदानको प्रक्रिया सञ्चालन हुन नसक्नुले पनि मत बदरको प्रतिशतलाई बढावा दिएको पाइन्छ । राज्य र आयोगले अबका दिनमा मत बदर रोक्नको लागि इलोक्ट्रोनिक पद्धतिको विकास र विस्तार गर्न आवश्यक छ । त्यसै गरी मतदाता शिक्षामा खटिएका कर्मचारीहरुले पनि इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गरी मतदतालाई सचेत र सजग बनाउन आवश्यक छ । नभए लोकतन्त्र आवरणमा मात्र सीमित हुने डर सधैँ रहन्छ ।

प्रतिक्रिया दिनुहोस्