सरकार गठनअघि नै पार्टी एकीकरण



मधुसूदन रायमाझी, काठमाडौं

नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनअघि नै नेकपा एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको छ। निर्वाचनको क्रममा वाम गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुँदा राम्रो परिणाम आएको निष्कर्ष निकाल्दै माओवादी केन्द्रले सरकार गठन गर्नुअघि पार्टी एकीकरण गर्ने निर्णय गरेको हो।

माओवादी केन्द्रले नेकपा एमालेका शीर्ष तहकै नेताहरूबाट पार्टी एकीकरणको मर्मविपरीत अभिव्यक्ति आएको बताउँदै चुनावी तालमेल हुने क्रममा भएको दुई दलबीचको सहमतिकै आधारमा अगाडि बढ्नुपर्नेमा जोड दिएको छ। गत असोज १७ गते माओवादी केन्द्र र नेकपा एमालेबीचमा चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने ६ बुँदे सहमति भएको थियो। निर्वाचनमा वाम गठबन्धनलाई जनताले मतद्वारा अनुमोदन गरेको निष्कर्ष निकाल्दै पार्टी एकीकरणमा ढिलो गर्न नहुने बताइएको छ।

निर्वाचनको समीक्षा, नयाँ सरकार गठन, पार्टी एकीकरण र राष्ट्रियसभा गठनको बारेमा छलफल गर्न बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै पार्टी एकता गर्नुपर्ने बताउनुभएको थियो।

प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले नेपाल समाचारपत्रसँग भने– ‘देश र जनताको आवश्यकता दुई पार्टीबीचको एकीकरण हो, सरकार गठनअघि नै पार्टी एकीकरण गर्नेमा म लागेको छु।’ उनले पार्टी एकीकरणका लागि एमालेका शीर्ष नेताहरूसँग परामर्श र गृहकार्य भइरहेको पनि बैठकमा जानकारी गराएका थिए। ‘पार्टी एकीकरण हुँदैन कि भनेर आशंका पाल्न जरुरी छैन’, प्रचण्डले भन्नुभयो– ‘जनताले पार्टी एकीकरण गर्नका लागि जनादेश दिएका छन्, जनताको जनमतको सम्मान गर्न पनि पार्टी एकीकरण गर्नको विकल्प छैन।’

असोज १७ मा भएको दुई पार्टीबीचको सहमतिको तीन नम्बर बुँदामा पार्टी एकीकरणको वैचारिक र संगठनात्मक काम पूरा नभएसम्म आफ्ना–आफ्ना विचार व्यक्त गर्न र स्वस्थ बहस गर्न सकिने, तर पार्टी एकीकरणको आधारमा सदृढ बनाउन एकअर्काप्रति सार्वजनिक रूपमा नकारात्मक टिप्पणी र आलोचना नगर्ने, पार्टी एकीकरणको यस उद्देश्यअनुरूप अघि बढ्न आफ्नो–आफ्नो पार्टी पंक्तिलाई आह्वान गर्ने, छरिएर रहेका सबै कम्युनिस्ट तथा वामपन्थी पार्टी तथा समूहलाई एकीकरणको यही प्रवाहमा समाहित हुन अपिल गर्ने सहमति भएको थियो।

निर्वाचनका क्रममा नै एमाले अध्यक्ष ओलीको अभिव्यक्ति र निर्वाचन सम्पन्न भएपछि एमालेका महासचिव ईश्वर पोखरलको अभिव्यक्तिले माओवादी केन्द्र सशंकित भएको छ। बैठकमा नेताहरूले अध्यक्ष प्रचण्डलाई एमालेसँग पार्टी एकीकरण हुने हो कि पार्टी विलय हुने हो भन्ने प्रश्न गरेका थिए। जवाफमा प्रचण्डले दुई पार्टीबीच सम्मानजक रूपमा नै पार्टी एकीकरण हुने बताउनुभएको एक नेताले बताए। बैठकमा नेताहरूले नयाँ सरकार गठन गर्दा सबै कार्यकारी पद एमालेलाई नदिन पनि प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

बैठकले पार्टीका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमलाई हटाउन वाम गठबन्धनभित्रैबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको छ। श्रेष्ठ र गौतम दुवै जना वाम गठन्धनको सूत्राधार मानिन्छन्। प्रतिनिधिसभाको निर्वाचनमा नेताद्वय गौतम र श्रेष्ठ पराजित भएका छन्। बैठकमा पार्टीभित्रको अन्तरघातका कारण श्रेष्ठको हार भएको भन्दै हारको कारण पत्ता लगाउन छानविन समिति गठन गर्न नेताहरूले माग गरेका छन्।

बैठकले राष्ट्रियसभा गठनमा देखिएको अन्योलता राजनीतिक परामर्शबाटै हटाउनुपर्ने निष्कर्ष निकालेको छ। राष्ट्रियसभा गठनसम्बन्धी विवाद राजनीतिक विषय भएकाले यसलाई राजनीतिक सहमतिकै आधारमा समाधान गर्नुपर्ने माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘राष्ट्रिय सभा गठनमा वर्तमान सरकार अल्झिनुहुँदैन, नयाँ जनमतअनुसार नयाँ सरकार गठन गर्न मार्गप्रशस्त गर्नुपर्छ।’
बैठकले नयाँ सरकार गठनका लागि छलफललाई घनिभूत बनाउने निर्णय पनि गरेको छ। माओवादीले समानुपातिकमा पार्टीको कम मत आउनुमा ६० प्रतिशत स्थानमा उम्मेदवार नहुनु र समानुपातिकतर्फको व्यवस्थित प्रचार नहुनु, प्रत्यक्षतर्फका उम्मेदवारले समानुपातिकमा मत माग्न ध्यान नदिनु, समानुपातिकतर्फको बन्द सूची बुझाउँदा नेताको योग्यता र क्षमताअनुसार भन्दा पनि गुट र नातागत रूपमा सिफारिस गर्नु नै मत कम आउनुको निष्कर्ष निकालेको छ।

बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै निर्वाचन आयोग, राजनीतिक दल, सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारी, नेपाल सरकार, कूटनीतिक नियोग र सम्पूर्ण मतदातामा धन्यवाद दिएको छ।

प्रतिक्रिया दिनुहोस्