चीनमा नेपालसम्बन्धी अन्तराष्ट्रिय फोटो प्रतियोगिता (फोटो फिचर)



ध्रुव पौडेल, छन्तु (चीन) । पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनको छन्तुमा सुरु भएको छ ।
प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको रुद्रक्षको माला लगाएर विदाई गर्नुभयो ।
काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्तु सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिवसीय नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि सुरु गरिएको छ ।
दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तिमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्न अपेक्षा गरिएको छ ।
प्रतियोगिता र प्रदर्शनीको उद्घाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशेढुंगा सावित हुने विश्वस व्यक्त गर्नभयो । चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्तु सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत सकिने विश्वास ब्यक्त गर्नुभयो । अन्य गन्तब्यको तुलनामा नेपालमा जाने चिनियाँ पर्यटकको संख्या थोरै भएकोले फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको बताउनुभयो ।
कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेइजिंगस्थित नेपाली राजदूताबास, सिछुवान प्रान्तीय र छन्तु नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लबलगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।
प्रतियोगिताको अवधिभर सन् २०१८ मा कम्तिमा २० हजार चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल लैजान सकिने सोसाइटीको प्रक्षेपण गरेको छ ।
उद्धाटन कार्यक्रममा सिछुवान प्रान्त र छन्तु नगरपालिकाका उच्च पदस्था सरकारी अधिकारी, स्थानीय पर्यटन ब्यवसायी, फोटाग्राफर क्लबका अधिकारी, पत्रकार, छन्तुमा अध्ययनरत नेपाली विद्यार्थीलगायत १ सय ५० भन्दा बढीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्