ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न वाइसिएलको आग्रह



पुष्कर बुढाथोकी, भक्तपुर । माओबादी केन्द्रको भातृ संगठन योग कम्युनिष्ट लिग (वाइसिएल) नेपालले नेकपा(एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो पार्टी एकता गर्न आग्रह गरेको छ ।
सोमबार बधाइ दिन ओली निवास बालकोट गएको वाइसिएल नेपालको केन्द्रीय पदाधिकारीको समुहले अध्यक्ष ओली समक्ष एमाले र माओबादी केन्द्रबीच पार्टी एकताको लागि आग्रह गरेको हो ।
वाइसिएलका नेताहरुसँगको भेटपछि प्रतिकृया दिंदै ओलीले पार्टी एकता हुँदा कोही नेतालाई म समितीमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुने आग्रह गर्नुभयो ।
आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमणपत्र राखेर ऋणदिने व्यवस्था गरिएको सुनाउनु भयो । युवाहरुलाई उद्यमी,अध्ययनशिल,समाजका रोल मोडल र सीपयुक्त हुन ओलीले सुझाव दिनुभयो ।
भेट पछि वाइसिएलका उपाध्यक्ष वीरु तामाङले काँग्रेसको शासनबाट देशले मुक्ति पाएको भन्दै जनमतको सम्मान गर्दै देशलाई विकासको बाटोमा लैजान ओलीलाई शुभकामना दिएको बताउनुभयो ।
भेटका क्रममा देशको विकास र समृद्धिका लागि आफूहरु जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको वाइसिएलका नेताहरु प्रतिवद्धता व्यक्त गरेका छन् ।
वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाको नेतृत्वमा अध्यक्ष ओलीलाई बधाइ दिन टोली आएको थियो ।

प्रतिक्रिया दिनुहोस्