बुढीगण्डकी निर्माणका लागि स्वदेशी लगानीको खाका प्रस्तुत



नेपाल समाचारपत्र, काठमाडौ ।

बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानीको खाका तय गर्न गठित समितिले सरकारलाई प्रतिवेदन पेस गरेको छ । समितिका संयोजक एवं योजना आयोगका उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले सोमवार उर्जा मन्त्रालयमा आयोजित समारोहमा लगानीको खाका सम्बन्धी प्रतिवेदन उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई बुझाए ।

प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्ष भित्रै करिव २ सय ७० देखि ३ सय ६७ अर्व लगानी गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिएको छ। समितिका संयोजक वाग्लेले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानी जुटाउने पर्याप्त आधार रहेको बताए। समितिले यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन टयाक्सलाई मुख्य स्रोतको रुपमा लिएको छ।

त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान तथा अन्य विमा कम्पनीहरु, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

समितिले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन कठिनाई नरहेको जनाएको छ। प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री कमल थापाले राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण स्वदेशी लगानीमा सम्पन्न हुने सुनिश्चित भएको बताए। उनले यो आयोजनालाई सफल बनाउन स्वदेशी पूँजी र प्रविधिमै निर्माण गर्ने निर्णय लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्