कृषि र पर्यटनमा वित्तीय क्षेत्रको उच्च लगानी



रोविन पौडेल, काठमाडौं

घरजग्गा तथा सवारी कर्जामा कडाई गरेपछि बैंक तथा वित्तीय संस्थाहरु लगानीको नयाँ क्षेत्र खोज्न थालेका छन्। पछिल्लो समय नियामक निकाय नेपाल राष्ट्र बैंकले घरजग्गा, सवारी जस्ता अनुत्पादक क्षेत्रमा गरिने लगानीमा कडाइ गरेपछि बैंक तथा वित्तीय संस्थाले लगानीका लागि अन्य उपयुक्त क्षेत्र पहिल्याउन थालेका हुन्।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको लगानी पर्यटन, कृषि तथा जलविद्युत् क्षेत्रमा बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकको चालू आवको पहिलो तीन महिनामा कूल कर्जा प्रवाहको १७ दशमलव ७६ प्रतिशत कृषि क्षेत्रमा तथा ६ दशमलव १३ प्रतिशत पर्यटन क्षेत्रमा गरेका छन्। राष्ट्र बैंकले बैंकलाई कर्जा सीमा बढाएपछि प्राथमिकताको क्षेत्रभित्र पनि फाइदा हुने क्षेत्र खोजेर बैंकहरुले लगानी बढाउन थालेका हुन्।

देशमा राजनीतिक वातावरण सुध्रिँदै जानु तथा राष्ट्र बैंकले बाध्यकारी रूपमा प्राथमिकताको क्षेत्र तोक्नु नै यी क्षेत्रमा लगानी बढ्नुको मुख्य कारण रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालका अध्यक्ष भरतराज ढकालको भनाइ छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै ढकालले भन्नुभयो–‘बैंक तथा वित्तीय संस्था पहिलेदेखि नै यी क्षेत्रमा लगानी गर्न हामी इच्छुक र प्रतिबद्ध छौं। अझै राष्ट्र बैंकले पनि प्राथमिकताको क्षेत्र भन्दै आफ्नो कूल कर्जा प्रवाहको केही हिस्सा लगानी गर्न बाध्य भएका हौं।’
ढकालका अनुसार कृषि, पर्यटन तथा जलविद्युत् क्षेत्रको विकास सबैको साझा एजेन्डा भए पनि विगतका दिनमा बैंक तथा वित्तीय संस्था जस्ता फाइदा भयो उतै लगानी गर्न लागेका थिए। उहाँले भन्नुभयो–‘पछिल्लो समय यस क्षेत्रमा जनताका हित तथा आर्थिक समृद्धि प्राथमिकतामा परेका छन्। राष्ट्र बैंकले उत्पानमूलक क्षेत्रमा लगानी बढाउन निर्देशन दिएपछि हामी पनि सोही बाटोमा लागेका हौं।’

कृषि क्षेत्रलाई बैंकहरुले मुख्य लगानीको क्षेत्र बनाइरहँदा पर्यटन तथा जलविद्युत् क्षेत्रमा पनि बढेको लगानी उत्तिकै छ। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले बाली उत्पादन तथा पशुपालनमा लगानी बढाउँदा पर्यटनअन्तर्गत ठूला होटलमा पनि लगानी बढेको छ। पाँचतारे होटलदेखि, रिसोर्ट, साना होटल, तथा रेस्टुरेन्ट खुल्ने क्रम बढदा यस क्षेत्रमा लगानी पनि बढेको बैंकहरुको जनाएका छन्।

त्यस्तै सरकारी तवरबाट नै जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखिएपछि बैंकहरुले यस क्षेत्रमा समेत लगानी बढाउन थालेका छन्। ठूलाठूला जलविद्युत् आयोजनामा पनि बैंकहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लगानी गर्न थालेका छन्।
राष्ट्र बैंकका अनुसार पछिल्लो पाँच वर्षमा बैंक तथा वित्तीय संस्थाको पर्यटन क्षेत्रमा प्रवाह हुने ऋण करिब चार गुणाले वृद्धि भएको छ। २०७० जेठसम्म यस क्षेत्रमा बैंकको लगानी १८ अर्बमात्रै रहेकोमा २०७४ असोजसम्म आइपुग्दा यस्तो लगानी बढेर ६८ अर्ब रुपियाँ पुगेको छ।

यसमध्ये ५४ अर्ब २२ करोड होटल व्यवसायमा र १४ अर्ब ४६ करोड रिसोर्ट, र्याफ्टिङ, माउन्टेनिङ लगायतका व्यवसायमा लगानी भएको छ। पछिल्लो तीन महिनाकै अवधिमा पर्यटन क्षेत्रमा ५ अर्ब ६८ करोड रुपियाँ बैंकिङ लगानी थपिएको छ। २०७३ असारसम्म यस क्षेत्रमा बैंकिङ लगानी ५१ अर्ब ३७ करोड रुपियाँ थियो। नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पर्यटन क्षेत्रमा कुल कर्जाको ५ प्रतिशत लगानी पुर्याउनुपर्ने निर्देशन दिएको छ।

त्यस्तै चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरुले गरेको कूल कर्जा प्रवाहमा कृषि क्षेत्र व्यापार क्षेत्रपछि दोस्रो नम्बरमा आउँछ। चालू आवमात्रै कृषि क्षेत्रमा कूल १६ अर्ब ४५ करोड ९१ लाख रुपियाँ कर्जा प्रवाह भएको छ।

२०७३ असारसम्म कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी ७८ अर्ब ७९ करोड रुपियाँ रहेकोमा २०७४ असोजसम्म आइपुग्दा यस्तो लगानी बढेर १ खर्ब ६ अर्ब ८५ करोड रुपियाँ पुगेको छ। यो तीन महिनाअघिको भन्दा १६ प्रतिशतले बढी हो।

राष्ट्र बैंकले दिएको निर्देशनअनुसार २०७५ असारसम्ममा वाणिज्य बैंकहरुले कृषि क्षेत्रमा १० प्रतिशत, जलविद्युत्मा ५ प्रतिशत, पर्यटन क्षेत्रमा ५ प्रतिशत र बाँकी अन्य प्राथमिकता प्राप्त क्षेत्रमा अनिवार्य रूपमा कर्जा प्रवाह गर्नुपर्नेछ।

राष्ट्र बैंकले केही उत्पादनशील क्षेत्रलाई समावेश गरी प्राथमिकता प्राप्त क्षेत्रको रूपमा परिभाषित गरेको छ। ती क्षेत्रमा जलविद्युत्, कृषि, पर्यटन, निर्यात, साना एवम् मझौला उद्योग, औषधि उत्पादन, सिमेन्ट, गार्मेन्टलगायत रहेका छन्। यी क्षेत्रमा वाणिज्य बैंकले २५ प्रतिशत, विकास बैंकले १५ प्रतिशत र फाइनान्स बैंकले १० प्रतिशत लगानी गर्नुपर्ने नयाँ व्यवस्था छ। यसअघि, वाणिज्य बैंकहरुले उत्पादनशील क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने थियो।

बैंकहरूले अझै राष्ट्र बैंकले तोकेको अनुपातमा उत्पादनशील क्षेत्रमा लगानी पुर्याउन सकेका छैनन्। वाणिज्य बैंकहरूले कूल कर्जाको २५ प्रतिशत तोकिएका उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा २०७४ असोजसम्म १६ दशमलव ९८ प्रतिशत मात्र लगानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्