टमाटर खेती फस्टायो



डोटी, (नेस)
डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनको सिर्माका महिलाले गरेको टमाटर खेतीले गाउँको नै मुहार फेरिन थालेको छ। कुनै समय गाउँमा टमाटर देख्नसमेत नपाइनेमा अहिले घरैपिच्छे टमाटर पाइन थालेको हो। उत्पादित टमाटर स्थानीय बजारमै बिक्री हुँदा कृषकले राम्रो आम्दानी पनि गर्न थालेका छन्।

लुथरन विश्व फेडरेसन तथा उपेक्षित सशक्तिकरण विकास मञ्चको सहयोगमा खिरसैनको सिर्मामा शान्ति महिला समूहले सो वडामा १५ वटा टनेल निर्माण गरेर टमाटर खेती गर्न थालेपछि गाउँमा टमाटर छ्यापछ्याप्ती पाउन थालेको हो। यससँगै गाउँलाई तरकारीको गाउँको पहिचान दिने उद्देश्यले काम गरिरहेको शान्ति महिला समूहकी अध्यक्ष पार्वतीदेवी खड्काले बताउनुभयो।

छिमेकी जिल्ला डडेल्धुरा तथा भारतबाट डोटीमा आयात गरिएको टमाटर दिपायलभन्दा यहाँ उत्पादित टमाटर बजारमा आधा कम मूल्यमा सहजै पाउने गरेका छ। स्थानीयबासी किरण भण्डारीका अनुसार बाहिरी जिल्लाबाट आयात गरेको टमाटर महंँगो तथा कम स्वादिस्ट हुने गरेको छ। आफ्नै गाउँमा फलेको तथा घरेलु मल प्रयोग गरेको टमाटर खाने बानी परेदेखि अरू खाने मन नलाग्ने उहाँको भनाइ छ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीबाट ३ किलोमिटरको दूरीमा रहेको उक्त सिर्मा गाउँ पछिल्लो समय तरकारी खेतीका लागि उपयुक्त गाउँका नामले चिनिने गरेको स्थानीयबासीको भनाइ छ। अहिले सबैले चिन्न थालेपछि दाम र नाम दुवै भएको उनीहरु खुशी व्यक्त गर्छन्। लुथरन विश्व फेडरेसन तथा उपेक्षित सशक्तिकरण विकास मञ्चले टमाटर खेतीका लागि प्रत्येक एक टनेल हाउसका लागि १० हजार रकम खर्च गरेको कार्यक्रम संयोजक प्रभु ढकालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्