समानुपातिक मतगणना सकियो ९५,४४,७४१ मत सदर



सुनील महर्जन, काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ ७७ वटै जिल्लामा समानुपातिकको मतगणना आइतबार सकिएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ खसेको कुल मतमध्ये ९५ लाख ४४ हजार ७ सय ४१ मत सदर भएको छ। आयोगका अनुसार १ करोड ५ लाख ८७ हजार ५ सय २१ मत खसेको थियो। खसेको कुल मतको ९ दशमलव ८५ प्रतिशत मत बदर भएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले सबै नतिजा सार्वजनिक गर्न अझै समय लाग्ने जानकारी दिनुभयो। उहाँले आयोगले अद्यावधिक गरेको आँकडा अन्तिम नभएको दाबी गर्नुभयो।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ। ३१ लाख ७३ हजार ४ सय ९४ मतसहित एमाले पहिलो दल बनेको छ। एमालेले पाएको मतअनुसार समानुपातिर्कबाट ४१ सिट पाउने सम्भावना रहेको छ। प्रत्यक्षतर्फ उसले ८० सिट जितेको छ।

दोस्रो दल कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ। एमालेले कांग्रेसभन्दा ४५ हजार १ सय ५ मत बढी पाएको छ। प्रत्यक्षतर्फ २३ सिट जितेको कांग्रेसले समानुपातिकबाट ४० सिट पाउने सम्भावना रहेको छ।

त्यसै गरी माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ। माओवादीले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ। समानुपातिकबाट माओवादीले १७ सिट पाउने सम्भावना रहको छ।

समानुपातिकमा राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २ सय ५४ मत प्राप्त गरेको छ। समानुपातिकतर्फ राजपाले ६ सिट पाउने सम्भावना रहेको छ। प्रत्यक्षतर्फ राजपाले ११ सिट जितेको थियो।

संघीय समाजवादी फोरम समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने पाँचौं शक्ति हुने भएको छ। प्रत्यक्षबाट १० सिट जितेको फोरमले पनि समानुपातिकमा ६ सिट पाउने सम्भावना रहेको छ।

समानुपातिक मतअनुसार एमाले, कांग्रेस, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमले राष्ट्रिय दलको मान्यता पाउने भएका छन्। प्रतिनिधिसभाको समानुपातिकमा ३ प्रतिशत थ्रेस होल्ड कायम गरिएको छ। कुल सदर मतको ३ प्रतिशत अर्थात् २ लाख ८६ हजार ३ सय ४२ मत नपाएका दलले समानुपातिक सिट पाउने छैनन्।

राप्रपा, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा र नेमकिपाले प्रत्यक्षतर्फ एक–एक सिट जितेका छन्। एक स्वतन्त्र सांसद पनि छन्। समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेका चार दल प्रतिनिधिसभामा दलकै रूपमा रहनेछन्। तर, राष्ट्रिय दलको मान्यता नपाएका कारण उनीहरूले संसदीय दलको कार्यालयलगायतका सेवा सुविधा भने पाउने छैनन्।

नयाँ दल विवेकशील साझा समानुपातिकतर्फ छैटौं स्थानमा रहे पनि थ्रेस होल्ड पार गर्न सकेन। सो पार्टीले २ लाख १२ हजार ३ सय ६३ मत ल्याएको छ। त्यस्तै राप्रपाको १ लाख ९६ हजार ७ सय ८२ मत आएको छ। दोस्रो संविधानसभामा समानुपातिकतर्फ २४ सिट पाएको राप्रपा (तत्कालीन राप्रपा नेपाल) ले पनि थ्रेस होल्ड पार गर्न सकेन।

त्यस्तै राप्रपा (प्रजातान्त्रिक) को मत ८८ हजार ३ सय ७७ रहेको छ। नयाँ शक्तिले ८१ हजार ८ सय ३७ मत प्राप्त गरेको छ। नारायणमान विजुक्छें नेतृत्वको नेमकिपाले पनि थ्रेस होल्डका कारण समानुपातिकमा सिट पाउन सकेन। आयोगका अनुसार अन्य दलको जम्मा ३ लाख ५५ हजार १ सय ९२ मत आएको छ।

सिट निर्धारण गर्न केही समय लाग्ने निर्वाचन आयोगले मतगणना सकिए पनि अन्तिम नतिजा सार्वजनिक गर्न भने समय लाग्ने जनाएको छ।

आयोगका प्रवक्ता नवराज ढकालले सबै नतिजा सार्वजनिक गर्न अझै समय लाग्ने बताउँदै भन्नुभयो– ‘अहिलेको मतसंख्या भनेको जिल्ला–जिल्लाबाट पठाएको मत प्रारम्भिक विवरण हो।’

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयले दिएको मतपरिणामअनुसार राजनीतिक दलहरूले पाउने समानुपातिक सिटको मोटामोटी आँकलन गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोगले राजनीतिक दलहरूलाई सिट उपलब्ध गराएको छैन।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले हस्ताक्षर गरेर पठाएको मतपरिणाममा आयोग सचिव बेगेन्द्रराज शर्मा पौड्यालको नेतृत्वमा रहेको समानुपातिक मुख्य निर्वाचन अधिकृतले रुजु गर्ने कार्य भइरहेको आयोगले जनाएको छ। ‘यो काम अत्यन्त संवेदनशील हो। त्यसैले जिल्ला जिल्लाबाट पठाएको मतको आँकडाको परीक्षण हुने काम भइरहेको छ’ –प्रवक्ता ढकालले भन्नुभयो।

यो सकिएपछि मात्र आयोगले औपचारिकरूपमा कुन दलले कति मत पायो भनेर जानकारी गराउने प्रवक्ता ढकालले बताउनुभयो। ‘आयोगले वेभसाइटमा राखेको संख्यामा केही तलमाथि हुन सक्छ, ठ्याक्कै त्यही पनि हुनसक्दछ’ –प्रवक्ता ढकालले भन्नुभयो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत संख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद संख्या तय गर्ने आयोगले जनाएको छ।

दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट संख्या बाँडफाँड गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँड हुने भएको छ। मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइने भएको छ। यस अनुसार दलले प्राप्त गरेको मतपरिणामलाई धेरै भाजक अंकले भाग गरिन्छ। उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अंकले भाग गरी सिट निर्धारण गरिन्छ।

सिट संख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँड गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँड गरिनेछ। सिट बाँडफाँड गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही सिटको बाँडफाँड हुने भएको छ।

एक सिटका लागि थ्रेसहोल्ड कति कायम हुन्छ भन्ने अंकगणित नमिल्न सक्छ। मत विभाजक सूत्रका आधारमा अन्तिम सिटसम्म भाग गर्दै जाँदा आउने अन्तिम सानो एकाई एक सिट प्राप्तका लागि हुने औसत मत कायम हुन्छ। संविधानमा समानुपातिकतर्फबाट प्रतिनिधिसभामा १ सय १० सांसद निर्वाचित हुने उल्लेख गरिएको छ। प्रत्यक्षबाट १ सय ६५ प्रतिनिधिसभा सदस्य यसअघि नै निर्वाचित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्