बाक्लो हुस्सुको असर तराईमा विमान उडेन



कीर्तिपुर नजिकै सडकछेउमा आगो ताप्दै दुई सर्वसाधारण। आइतबार राजधानीको तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ। तस्वीरः अनिल आङ्देम्वे, काठमाडौं

टीका बन्धन, काठमाडौं

छोटो अवधिमा यात्रुलाई गन्तव्यमा पुर्याउने हवाई सेवा केही दिनयता नियमित बन्न सकेको छैन। मौसमका कारण आन्तरिक सेवातर्फका अधिकांश उडान दैनिकरूपमा प्रत्यक्ष प्रभावित बन्न थालेका छन्।

तराईमा बढेको बाक्लो हुस्सुका कारण पूर्वदेखि पश्चिम तराईका अधिकांश आन्तरिक विमानस्थलको सेवा प्रभावित बन्न थालेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। सो कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भरतपुरबाहेक तराईका लगभग सबै विमानस्थलको सेवा विगत ३ दिनदेखि प्रभावित भइरहेको छ, पूर्वतालिकाअनुसार हवाई सेवा सञ्चालनमा छैन।’

हवाई उडानका लागि पर्याप्त भिजिविलिटीको अभावमा हिमाली र पहाडी भेगबाहेक भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थलको उडान प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। आइतबार अपराह्न ठाकुरले भन्नुभयो– ‘आज तेस्रो दिन भयो, तराईमा हवाई सेवा नियमित बन्न सकेको छैन।’ तराईका विमानस्थलमध्ये विभिन्न हवाई सेवा प्रदायक कम्पनीले काठमाडौं–विराटनगर रुटमा दैनिक १२⁄१३ उडान भर्दै आएका छन्।

मौसम सामान्य रहेको बेला काठमाडौंबाट नेपालगन्ज, भैरहवा र धनगढीमा पनि दैनिक आधा दर्जनका हाराहारीमा उडान हुँदै आएको छ भने अन्य विमानस्थलमा पनि दैनिक ३⁄४ वटा उडान हुने गर्छ। आन्तरिकतर्फ बुद्ध, यति, नेपाल एयर, श्री, सिम्रिक, सौर्य, समिट (गोमा) लगायतका विमान कम्पनीले हवाई सेवा प्रदान गर्दै आएका छन्।

अहिले तराईमा बढेको बाक्लो हुस्सुकै कारणले तराईका विमानस्थलको हवाई सेवा अवरुद्ध हुन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बढ्दो थिकफग (बाक्लो हुस्सु) का कारण हिजो–आज तराईका विमानस्थलमा पर्याप्त हवाई भिजिविलिटी छैन, मध्य दिउँसोसम्म समेत मौसममा सुधार नआउँदा हवाई सेवा प्रभावित बन्न थालेको हो’ –महाशाखाकी मौसमविद् शान्ति कँडेलले प्रष्ट्याउँदै भन्नुभयो। प्राय बिहान ११ बजेपछि मौसम खुल्ने गरे पनि आइतबार दिउँसो ३ बजेको हाराहारीमा पनि धनगढीबाहेक धेरै स्थानको मौसम पूर्णरूपमा नखुलेको उहाँले बताउनुभयो।

आइतबार मध्यान्ह्रपछि मध्यपश्चिम र सुदुरपश्चिमको मौसममा केही सुधार आएको थियो। महाशाखाले आइतबार दिउँसो गरेको अनुगमनअनुसार धनगढीको हवाई भिजिविलिटी ६ किलोमिटर थियो भने नेपालगन्ज ५, विराटनगर २, सिमराको १ किमी र भैरहवाको ८ सय मिटर थियो। सामान्यता २ किमीभन्दा कमको भिजिविलिटी आन्तरिक उडानका लागि उपयुक्त मानिँदैन। तर विज्ञहरू भने विमानस्थल र विमानस्थल आसपासको भू–बनोट साथै जहाजको प्रकृति अनुसार भिजिविलिटीको न्यूनतम शर्त लागू हुने बताउँछन्।

मध्य हिउँद् भर्खरै शुरू भएकाले अहिले बढिरहेको तुवाँलो र हुस्सुको प्रभावमा तत्काल सुधार आउने मौसमी संकेत विकास नभएको मौसमविद्हरू बताउँछन्। ‘अझै तराईमा शितलहर शुरू भइसकेको छैन, शीतलहरले समेत तराईको जनजीवन र हवाईसेवा झनै प्रभावित हुने गर्छ’ –एक मौसमविद्ले भने।

प्रतिक्रिया दिनुहोस्