उच्च स्तरीय व्यवस्थापन तालिम शुरू



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठानमा उच्च स्तरीय व्यवस्थापन तालिम संचालन भएको छ।
उक्त तालिमको सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले आईतबार एक समारोहका बीच उद्घाटन गर्नुभयो।
सशस्त्र प्रहरी बल नेपालमा संचालित तालिमहरू मध्येकै उच्च स्तरको सो तालिममा सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरू प्रशिक्षार्थीको रूपमा सहभागी रहेका छन तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले सुरक्षा, द्वन्द्व व्यवस्थापन, व्यावसायिक क्षमता अभिबृद्धि एवं नेतृत्व विकासका लागि यस किसिमको उच्च स्तरीय व्यवस्थापन तालिमको अहम भूमिका रहने बताउनुभयो।
उहाँले हरेक सरोकारवाला पक्षहरूसँग आवश्यक सहकार्य र समन्वय कायम राख्दै जिम्मेवारीबोधका साथ कुशल नेतृत्व प्रदान गर्न सक्ने उच्च व्यावसायीक क्षमता, ज्ञानसीप र दक्षतायुक्त अधिकृत उत्पादनका लागि तालिम उपलब्धीमूलक रहने विश्वास व्यक्त गर्नुभयो।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले तालिम संचालन गर्ने कार्यमा सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गरी उल्लेख्य भूमिका निर्वाह गर्ने त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागप्रति आभार प्रकट गर्नुभयो।
सो प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा प्राप्त जिम्मेवारीलाई कुशल नेतृत्वका साथ उत्कृष्ट ढंगबाट पुरा गर्न सक्ने क्षमतावान एवं व्यावसायीक कमाण्डर तयार गर्न यस तालिमले महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी कार्य योजना प्रस्तुत गर्नुभएको थियो भने तालिममा सहभागी प्रशिक्षार्थीहरूका तर्फबाट सशस्त्र प्रहरी नायव महानिरीक्षक राजेश श्रेष्ठले तालिमका विविध पक्षमाथि प्रकाश पार्नुभएको थियो।
त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. टेकनाथ ढकालले हरेक संगठनको लागि तालिम एउटा महत्वपूर्ण भागको रूपमा रहने उल्लेख गर्नुहुँदै व्यावसायिक दक्षता र नेतृत्व विकासका साथै वृत्ति विकासमा समेत यस प्रकारको तालिमले टेवा पुर्याउने उल्लेख गर्नुभयो।
तालिममा सहभागी वरिष्ठ अधिकृतहरूलाई नेतृत्व विकास, सुरक्षा तथा द्वन्द्व व्यवस्थापन, सशस्त्र प्रहरी बल नेपालको म्यान्डेटसँग सम्बन्धित कार्य लगायत विभिन्न समसामयिक विषयवस्तुहरूलाई समेटेर प्रशिक्षण दिइने कुरा त्यसअवसरमा जानकारी दिइएको थियो।
त्रिभुवन विश्वविद्यालय जनप्रशासन केन्द्रीय विभागसँगको सहकार्यमा सो प्रतिष्ठानले संचालन गरेको तीन हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू २ जना तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरू १६ जना गरी कूल १८ जना प्रशिक्षार्थीहरू सहभागि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्