चिकित्सक नै गर्छन् एम्बुलेन्सको दुरूपयोग



पुष्कर बुढाथोकी, भक्तपुर
पक्कै पनि समय र छालले कसैलाई पर्खंदैन। यसले पनि जनाउँछ कि जीवनमा समयको कति महत्त्व छ। अझ समयमै अस्पताल पुग्न ढिलाई भएर कतिपय बिरामीको ज्यान गएको हामीले देखेसुनेकै विषय हो। यसबाट पनि झल्कन्छ बिरामीलाई छिटो अस्पताल पुर्याउने एम्बुलेन्सको महत्त्व।

तर जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका बिरामीलाई स्वस्थ जीवन दिन छिटो अस्पताल पुर्याउन प्रयोग हुने एम्बुलेन्सको यदाकदा दुरूपयोग भइरहेको गुनासो आइरहेका बेला एम्बुलेन्स चालक संघले एम्बुलेन्सको दुरूपयोग नहोस् भन्नेतर्फ आफूहरू सचेत रहेको जनाएको छ।

भक्तपुर जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्धकृष्ण बागश्रेष्ठले एम्बुलेन्सको दुरूपयोग नहोस् भन्नेतर्फ आफूहरू सचेत रहेको बताउँदै यस विषयलाई लिएर संघले सम्बन्धित संस्थालाई एम्बुलेन्स दुरूपयोग नगर्न पत्राचार गरेको बताउनुभयो। केही संस्थाले एम्बुलेन्सको दुरूपयोग रोक्न अझै पनि ध्यान नदिएको उल्लेख गर्दै उहाँले त्यसमा चालकको संलग्नता र चालकको लापरवाही नहोस् भन्नेतर्फ पनि संघ सचेत रहेको बताउनुभयो।

संघका सचिव सीताराम खिउँजुले एम्बुलेन्सको उपयोग सम्बन्धमा चालकहरू जानकार हुनुपर्ने बताउँदै बेला–बेलामा भएका एम्बुलेन्स दुरूपयोग र चालकबाटै लापरवाही भएका घटनालाई मनन् गरी संघ सचेत र चनाखो भई यससम्बन्धी नराम्रा धारणा, भ्रम र दुरूपयोगलाई चिर्न हरदम प्रयासरत रहेको बताउनुभयो।

समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्नेतर्फ समेत आफूहरू सचेत रहेको बताउँदै उहाँले एम्बुलेन्सको गलत प्रयोग कम गर्नतर्फ संघले पहल गरिरहेको उल्लेख गर्नुभयो।

अध्यक्ष बाघश्रेष्ठले भन्नुभयो– ‘अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघसंस्थाका प्रमुख र चिकित्सकहरू एम्बुलेन्सको महत्त्वलाई नबुझेझैं गरी बिरामीका लागि प्रयोग हुने एम्बुलेन्समा आफैं आवत–जावत गरेको पाइन्छ, यसतर्फ हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं।’

आगामी दिनमा चालकलाई क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने बताउँदै सचिव खिउँजुले आकस्मिक सेवाका दमकल, शववाहन, ट्राफिक प्रहरीसमेतको समन्वयमा सेवालाई प्रभावकारी, सहज र सरल बनाइने बताउनुभयो। संघका कोषध्यक्ष सैलेन छुंकाले बिरामीलाई यथासक्य छिटो अस्पताल पुर्याउन ट्राफिक जाम र जथाभाबीरूपमा गरिने सवारी पार्किङले समस्या भएको बताउँदै ट्राफिक व्यवस्थापनलाई सरल बनाउनुपर्नेमा जोड दिनुभयो। भक्तपुर जिल्लाका करिब ४० प्रतिशत बिरामी उपचारका लागि काठमाडौं र १५ प्रतिशत बिरामी काभ्रेमा समेत जाने गरेको उहाँले बताउनुभयो।

उहाँ भन्नुहुन्छ– ‘एकातिर बिरामीलाई छिटो अस्पताल पुर्याउनुपर्ने बाध्यता, अर्काेतिर गाडी जाम र बिरामीका आफन्तको छिटो अस्पताल पुर्याउने दबाब, यस्तै बेला कति बिरामी त बीच बाटोमै बित्छन्, यस्तै अप्ठ्यारोबीच हामीले काम गरिरहेका छौं।’

एम्बुलेन्सको प्रभावकारी र छिटो सेवा तथा एम्बुलेन्स चालकको हकहितका लागि समेत केन्द्रित रहेको संघले जनाएको छ।
भक्तपुर जिल्ला एम्बुलेन्स चालक संघले सल्लाघारीमा आयोजना गरेको चौथो वार्षिक साधारणमा बोल्दै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख गोपाल पोखरेल, डा.ईवामुरा अस्पतालका सञ्चालक समिति अध्यक्ष पुष्पमान अमात्य, डा.ईवामुरा अस्पतालका व्यवस्थापक रन्जित मारिखु, मध्यपुर अस्पतालका दीपक डोटेल, भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष दिनेश प्रधान, मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणालगायतले एम्बुलेन्स सेवाको महत्त्वमाथि प्रकाश पार्दै एम्बुलेन्सको प्रभावकारी प्रयोगमा जोड दिनुभयो।संघले भक्तपुर जिल्लाभित्र २६ वटा एम्बुलेन्स र ४ वटा शववाहनसमेत गरी ३० वटाबाट आकस्मिक सेवा प्रदान गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्