मञ्चमा आसन ग्रहण नगराइएको निहुँमा एमाले वडाध्यक्षहरुद्वारा समारोह वहिष्कार



सुनील महर्जन, ललितपुर
एमालेका वडाध्यक्षहरुले आफूलाई मञ्चमा आसन ग्रहण नगराइएको भन्दै ललितपुर महानगरपालिकाको आईतबार आयोजित ९९ औं स्थापना दिवस समारोह वहिष्कार गरेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि सो समारोह पहिलोे स्थापना दिवस थियो । समारोह शुरु हुनु अघि महानगरपालिकाका प्रवक्ता समेत रहनुभएका कार्यक्रम सञ्चालक राजु महर्जनले सबै वडाध्यक्षहरुको नाम पालैपालो लिएर मञ्चको तल यथास्थानमा आसन ग्रहण गर्न आग्रह गर्नुभयो । त्यसपछि सबै वडाध्यक्षहरुले दर्शक दिर्घामा बसेका सबैलाई उभिएर नमस्कार गर्दै यथास्थानमा आसन ग्रहण गरेका थिए । यहाँसम्म कसैले विरोध थिएन ।

आसन ग्रहण सकिन्ने बितिक्कै उद्घोषकले कार्यक्रम शुरु गर्न खोज्दा आफूलाई मञ्चमा नबोलाइएको भन्दै एमालेका वडाध्यक्ष र नगरकार्यपालिका सदस्यहरु समारोहबाट जुरुक्क उठेर बाहिर हिडेपछि सबैले आश्चर्य प्रकट गरेका थिए । वडाध्यक्षहरुलाई आसन ग्रहणपछि उद्घोषकले विभिन्न संघसंस्थाका प्रतिनिहिरुलाई मञ्चमा आसन ग्रहण गराइएको थियो । एमालेका वडाध्यक्षहरुले त्यसलाई नै मुख्य निहुँ बनाएर सभा छोडेर बाहिर निस्किएका थिए ।

‘जननिर्वाचित वडाध्यक्षहरुलाई तल राख्ने अनि अन्य सघसंस्थाका प्रतिनिधिहरुलाई मञ्चमा राखेर हाम्रो अपमान गर्न खोजियो ।’ वडा नं १९ का वडाध्यक्ष विनोद ताम्रकारले नेपाल समाचारपत्रसंग भन्नुभयो‘ यस्तो गर्नु कतिको सहय हुन्छ ?’

शुरुमा वडा नं ३ का वडाध्यक्ष श्रीगोपाल महर्जन, वडा नं १९ का वडाध्यक्ष विनोद ताम्रकार, लगायत एमालेका वडाध्यक्षहरु बाहिर निस्किएका थिए । त्यस क्रममा समारोहमा स्थलमा बसेका एमालेका अन्य वडाध्यक्ष र कार्यपालिका सदस्यहरुलाई बाहिर फोन गरेर बाहिर बोलाएका थिए । त्यसक्रममा वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवाले, वडा सदस्य ससिता महर्जन लगायत कतिपय एमालेका वडाध्यक्ष र सदस्यहरुलाई बाहिर निस्किने वा सभामा बसिरहने भनेर एकछिन अलमल भएको देखिन्थ्यो । एक छिनपछि उनीहरु पनि बाहिर निस्किएका थिए ।

बाहिरिने क्रममा वडाध्यक्षहरुले ९९ औं स्थापना दिवस मनाउने विषयमा पनि महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले छलफल नगरेको आरोप लगाए । ‘कार्यक्रम गर्न हामीसंग एक पटक पनि छलफल गर्नु नपर्ने ?’ नगर कार्यपालिका सदस्य एवं वडा नं १६ का सदस्य सुप्रभा शाक्यले भन्नुभयो ।

यस अघि प्रमुख महर्जनको कार्यशैलीलाई लिएर एमालेका वडाध्यक्ष र सदस्यहरुले कार्यपालिका बैठक समेत वहिष्कार गर्दै आएको थियो । बाहिएका वडाध्यक्षहरु महानगरपालिकाको प्रवेशद्वार अगाडि बसेर आक्रोश पोखिरहँदा भित्र समारोह चल्दै थियो । समारोहमा प्रमुख चिरिबाबु महर्जनले साना तिना कुरा निकालेर व्यवधान खडा गर्न खोज्नु उचित नभएको धारणा राख्नुभयो ।

‘नगरपालिकाको स्थापना दिवस कार्यक्रम त आफनै घरभित्रको कार्यक्रम हो । घर भित्रको कार्यक्रममा अन्य अतिथिहरुलाई मञ्चमा र आफूलाई यथास्थानमा आसन ग्रहण गराइएकोमा वडाध्यक्षहरुले सभा वहिष्कार गर्न खोज्नु कतिको सुहाँउँछ ? ?’ उपमहानगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो ।

‘केही असन्तुष्टि भएको भए कार्यपालिका बैठकमा राख्न सकिन्छ, वा प्रमुखलाई भेटेर भन्न सकिन्छ, यत्रो दर्शकको अगाडि सभा वहिष्कार गरेर जानु बुद्धिमतापूर्ण कार्य होइन’ वडा नं ९ का वडाध्यक्ष एवं प्रवक्ता राजु महर्जनले भन्नुभयो ।

एमालेका वडाध्यक्षहरुको वहिष्कारले नेपालकै जेठो नगरका रुपमा रहेको महानगरपालिकाको स्थापना दिवसमा खल्लो अनुभूत गरेका उपस्थित स्थानीयले भने ‘पाँच वर्षसम्म पदमा बसेर जनताको सेवा गर्छु’ भन्ने कसम खाएका वडाध्यक्षहरुले आफूलाई मञ्चमा आसन ग्रहण नगराउने बितिक्कै सभा नै वहिष्कार गरेर बाहिरिनु आत्म केन्द्रीत मनस्थितिको परिचायक हो । ’

प्रतिक्रिया दिनुहोस्