संघसंस्थाका प्रमुख र चिकित्सक नै गर्छन् एम्बुलेन्सको दुरुपयोग



चालक भन्छन्,– ‘एम्बुलेन्सको दुरुपयोग नहोस् भन्ने तर्फ सचेत छौं’

पुष्कर बुढाथोकी, भक्तपुर ।
पक्कै पनि समय र छालले कसैलाई पर्खदैन ।यसले पनि जनाउँछ कि जीवनमा समयको कति महत्व छ ।अझ समयमै अस्पताल पुग्न ढिलाई भएर कतिपय बिरामीको ज्यान गएको हामीले देखे सुनेकै बिषय हो ।यसबाट पनि झल्कन्छ बिरामीलाई छिटो अस्पताल पुर्याउने एम्बुलेन्सको महत्व ।

तर जीवन र मृत्युको दोसाँधमा छटपाईरहेको बिरामीलाई स्वस्थ जीवन दिन छिटो अस्पताल पुर्याउन प्रयोग हुने एम्बुलेन्सको यदाकदा दुरुपयोग भईरहेको गुनासो आईरहेका बेला एम्बुलेन्स चालक संघले एम्बुलेन्सको दुरुपयोग नहोस् भन्ने तर्फ आफूहरु सचेत रहेको जनाएको छ ।

भक्तपुर जिल्ला एम्बुलेन्स चालक संघका अध्यक्ष बुद्घकृष्ण बागश्रेष्ठले एम्बुलेन्सको दुरुपयोग नहोस् भन्ने तर्फ आफूहरु सचेत रहेको बताउँदै यस बिषयलाई लिएर संघले सम्बन्धित संस्थालाई एम्बुलेन्स दुरुपयोग नगर्न पत्राचार गरेको बताउनुभयो ।केही संस्थाले एम्बुलेन्सको दुरुपयोग रोक्न अझै पनि ध्यान नदिएको उल्लेख गर्दै उहाँले त्यसमा चालकको संलग्नता र चालकको लापरवाही नहोस् भन्ने तर्फ पनि संघ सचेत रहेको बताउनुभयो ।

संघका सचिब सिताराम खिउँजुले एम्बुलेन्सको उपयोग सम्बन्धमा चालकहरु जानकार हुनुपर्ने बताउँदै बेलाबेलामा भएका एम्बुलेन्स दुरुपयोग र चालकबाटै लापरवाही भएका घटनालाई मनन् गरी संघ सचेत र चनाखो भई यस सम्बन्धि नराम्रा धारणा ,भ्रम र दुरुपयोगलाई चिर्न हरदम प्रयासरत रहेको बताउनुभयो ।

समयमै एम्बुलेन्स सेवा नपाएर बिरामीको अकालमै मृत्यु नहोस् भन्ने तर्फ समेत आफूहरु सचेत रहेको बताउँदै उहाँले एम्बुलेन्सको गलत प्रयोग कम गर्न तर्फ संघले पहल गरिरहेको उल्लेख गर्नुभयो ।

अध्यक्ष बुद्घकृष्णले भन्नुभयो ,‘अहिले पनि कतिपय एम्बुलेन्स प्रदायक संघसंस्थाका प्रमुख र चिकित्सकहरु एम्बुलेन्सको महत्वलाई नबुझे झैं गरी बिरामीको लागि प्रयोग हुने एम्बुलेन्समा आफैं आवत जावत गरेको पाईन्छ ,यस तर्फ हामीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छौं ।’

आगामी दिनमा चालकलाई क्षमता अभिबृद्घिका लागि तालिम संचालन गर्ने बताउँदै सचिब खिउँजुले आकस्मिक सेवाका दमकल,शब बाहन,ट्राफिक प्रहरी समेतको समन्वयमा सेवालाई प्रभावकारी ,सहज र सरल बनाईने बताउनुभयो ।

संघका कोषध्यक्ष सैलेन छुंकाले बिरामीलाई यथासक्दो छिटो अस्पताल पुर्याउन ट्राफिक जाम र जथाभाबी रुपमा गरिने सवारी पार्किङ समस्या भएको बताउदै ट्राफिक ब्यबस्थापनलाई सरले बनाउनुपर्नेमा जोड दिनुहुन्छ ।भक्तपुर जिल्लाका करिब ४० प्रतिशत बिरामी उपचारका लागि काठमाडौं र १५ प्रतिशत बिरामी काभ्रे समेत जाने गरेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ ,‘एकातिर बिरामीलाई छिटो अस्पताल पुर्याउनुपर्ने बाध्यता ,अर्का तिर गाडि जाम र बिरामीका आफन्तको छिटो अस्पताल पु्याउने दबाब यस्तै बेला कति बिरामी त बिच बाटोमै बित्छन् ,यस्तै अप्ठ्यारोबीच काम गरिरेका छौ हामी ।’ एम्बुलेन्सको प्रभावकारी र छिटो सेवा तथा एम्बुलेन्स चालकको हक हितका लागि समेत केन्द्रित रहेको संघले जनाएको छ ।
भक्तपुर जिल्ला एम्बुलेन्स चालक संघले सल्लाघारीमा आयोजना गरेको चौथो बार्षिक साधारणमा बोल्दै महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख गोपाल पोखरेल,डा.ईवामुरा अस्पतालका संचालक समिति अध्यक्ष पुष्पमान अमात्य,डा.ईवामुरा अस्पतालका ब्यबस्थापक रन्जित मारिखु,मध्यपुर अस्पतालका दिपक डोटेल,भक्तपुर मिनीबस सेवा समितिका अध्यक्ष दिनेश प्रधान,मेघा अस्पतालका अध्यक्ष किशोरजंग राणा लगायतले एम्बुलेन्स सेवाको महत्वमाथि प्रकाश पार्दै एम्बुलेन्सको प्रभावकारी प्रयोगमा जोड दिनुभयो ।संघले भक्तपुर जिल्लाभित्र २६ वटा एम्बुलेन्स र ४ वटा शव वाहन समेत गरी ३० वटाबाट आकस्मिक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्