ह्विलचेयर क्रिकेटको उपाधि नेपालले जित्यो



काठमाडौं । नेपालले पहिलो पटक आयोजना भएको अन्तर्राष्ट्रिय ह्विलचेयर क्रिकेट च्याम्पियनसिप टी २० ट्रायसिरिज २०१७ को उपाधि जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले बंगलादेसलाई ५४ रनले हराएर उपाधि हात पारेको हो । नेपालले पहिले ब्याटिङ गरेर निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । ओपनरले १ सय ४९ रनको सतकीय साझेदारी गरेपछि नै घरेलु टोली बलियो स्थितिमा पुगेको हो । दिगम चेम्जोङ लिम्बुले ६२ बलमा १० चौकासहित ७९ रन जोड्दा अर्का ओपनर नबीन राईले ५९ रन योगदान दिएका थिए । नबीनले ८ चौका प्रहार गरे ।
जवाफमा उत्रेको बंगलादेसको पुरै खेलाडी १८ दशमलव २ ओभरमा आउट हुँदै १ सय ६ रनमा रोकिएको थियो । नेपाली बलरमा बिपिन पौड्यालले तीन विकेट लिँदा विष्णु अधिकारी, रामबहादुर तामाङ र हिमाल अर्यालले एक–एक विकेट हासिल गरेका थिए । पाहुना टोलीका मोर्सद आलमले सर्वाधिक २० रनको योगदान दिनु बाहेक अन्य नेपाली बलर सामु चल्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्