इलाममा रु.५१ करोड बराबरको घ्यू उत्पादन



गणेश घिमिरे, इलाम । इलाममा करीब ५१ करोड ४ लाख रुपैयाँ बराबरको ९ सय २८ मेट्रिक टन घ्यू उत्पादन भएको छ । सोही अवधिमा २२ करोड २७ लाख ५० हजार रुपैयाँ बराबरको २ सय ९७ मेट्रिक टन छुर्पी उत्पादन भएको छ । जिल्ला पशु सेवा कार्यालय इलामको तथ्याङ्क अनुसार जिल्लाका विभिन्न गाउँमा २ सय ३० हाते डेरी सञ्चालनमा छन् ।
घरेलु डेरीले मुख्य गरी घ्यू छुर्पी उत्पादन गरिरहेका छन् । घरेलु डेरी स्थापनाले गाउँका महिलाको आयआर्जनमा समेत सहयोग पुगेको छ । इलाममा सञ्चालित छुर्पी उद्योगमा उत्पादित छुर्पी भारतको दार्जिलिङमा समेत निकासी हुने गरेको छ । ग्रामीण भेगमा उत्पादित छुर्पी उद्योगको प्रवद्र्धनका लागि जिल्लास्तरमा डेरी प्रवद्र्धन कार्यक्रमसमेत सञ्चालन हुँदै आएको छ । जिल्ला पशु सेवा कार्यालयले यस्ता उद्योगलाई डीप फ्रिज खरीद गर्न अनुदान उपलव्ध गराइसकेको कार्यालय प्रमुख पशुपति ढुङ्गानाले जानकारी दिए । पूर्वका पहाडी जिल्लामा दूधबाट उत्पादित छुर्पी कुकुरको आहाराका लागि अमेरीकामा निकासी हुन थालेको छ । यहाँको छुर्पीमा गुणस्तर सुधार हुनुपर्ने र आकार पनि मागअनुरूपकै हुनुपर्ने व्यापारीले बताएका छन् ।
पूर्वका इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, ताप्लेजुङ र सङखुवासभा जिल्लाबाट वार्षिक करीब साढे २ लाख किलो छुर्पी अमेरिका निर्यात भइरहेको छ । कुकुरको आहाराका लागि यूरोपको प्रसिद्ध कम्पनी हिमालय डग चिउले यहाँ उत्पादित छुर्पी खरीद गरी अमेरिका पुरयाउने गरेको छ । उक्त कम्पनीले वार्षिक ६ लाख किलोभन्दा बढी छुर्पीको माग गरे पनि उत्पादन कम हुँदा उपलब्ध गराउन सकेको छैन । अमेरिका निर्यात हुनेमा हिमाली चौरीगाईको २ सय ग्रामदेखि ५ सय ग्रामसम्मको छुर्पी पर्दछ ।
चिल्लोरहित छुर्पी निर्यात हुने र बढी चिल्लो भएको छुर्पी भने स्थानीय बजारमै खपत हुने गरेको छ । कम्पनीले प्रतिकिलो १ सय ५० देखि ८ सय रुपैयाँमा छुर्पी खरीद गर्ने गरेको छ । कुनै पनि रसायन प्रयोग नभएको शुद्ध र जैविक पदार्थ भएका कारण गाउँको छुर्पी बढी गुणस्तरीय रहेको छ । गाउँघरमा निजी क्रिम सेपरेटर मेशिनमार्फत दूधको प्रशोधन गरी मट्ठा र क्रिम निकालिन्छ । क्रिमबाट घिउ उत्पादन र मट्ठाबाट छुर्पी बनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्