‘थानेश्वरको गाउँमा आएँ, पुण्य कमाएँ !’



रामधन राई, खोटाङ । बिभिन्न जिल्लाबाट खोटाङ आईपुगेका कराते खेलाडीहरुले ‘करातेको भिष्म पिता’ को गाउँमा आएर पुण्य कमाएको बताएका छन् । आमन्त्रित राष्ट्रिय कराते प्रतियोगिताको लागि जिल्ला आएका कराते खेलाडीहरुले भिष्म पिताको नामबाट सम्बोधन गरिने थानेश्वर राईको जन्मभूमिमा पाईला टेकेर पुण्य कमाएको बताएका हुन् ।
‘हलेसी त छँदैछ, त्यो भन्दा पनि थानेश्वर राईको गाउँमा आईपुगेकोमा मैले पुण्य कमाएको महशुष गरेको छु ।’ तेह्रथुमका टिम प्रशिक्षक राजेन्द्र बरालले भन्नुभयो–‘ मेरो लागि संसारको सबैभन्दा ठुलो धाम भनेकै थानेश्वर गुरु जन्मनुभएको गाउँ खोटाङ हो ।’
केपिलासगढी गाउँपालिका बाक्सिला र नेपाल सितोरियो कराते संघ जिल्ला शाखा दिक्तेलको संयुक्त आयोजनामा खोटाङको बाक्सिलाबजारमा हालै सम्पन्न कार्यक्रममा खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, सिराह, तेह्रथुम, भोजपुर, नवरपरासी र सिन्धुपाल्चोकका खेलाडीले प्रर्तिष्पर्धा गरेको सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो । १७ स्वर्णपदक, १७ रजतपदक ३४ कास्यपदकका लागि आयोजना गरिएको प्रतियोगितामा प्रथम उपाधी उचाल्न सफल खोटाङलाई आमन्त्रणको लागि धन्यबाद दिदैं खेलाडीहरुले भौगोलिक बिकटताले कुनै असहज नभएको जनाएका छन् ।
नेपालमा करातेको संस्थापक प्रमुख प्रशिक्षक थानेश्वर राईले कराते खेलको बिकासमा योगदान पु¥याएको कुरा स्मरण गर्दै श्रद्घाले शीरनत भएको बाहिरी जिल्लाका कराते खेलाडीहरुले जनाएका छन् । जिल्लाको अर्खौले नवलपुरमा जन्मनुभएको थानेश्वरले २० ३८ सालतिर लुकी–लुकी करातेको तालिम गराउने करातेबिज्ञहरु बताउँछन् । । पञ्चायतकालमा कराते खेल खेलाउने र खेल्नेलाई राजद्रोहको मुद्घामा पक्राउ गरिन्थ्यो । सो समयमा सुनसरी जिल्लाको धरानस्थित चारकोशे झाडी, बिजयुपर डाडाँको जंगल, पञ्चकन्या जंगल, महेन्द्र क्याम्पस, जोगवनी लगायतका स्थानमा लुकी –लुकी राती–राती कराते सिकाउने गरिन्थ्यो । थानेश्वर राईले दिक्तेल क्याम्पसमा समेत कराते खेलको प्रशिक्षण दिनुभएको थियो । पछिल्लो समयमा खेलकुद परिसरको सदस्यसचिब सरदचन्द्र शाहले करातेको खेललाई बैधानिकता दिएको बताईन्छ ।
दुई दिवसिय राष्ट्रिय कराते प्रतियोगितामा खोटाङले १२ स्वर्ण, ३ रजत १ कास्यपदक कब्जा गर्दै प्रथम, २ स्वर्ण २ कास्यपदक जित्दै सोलुखुम्बुले दोश्रो र १ स्वर्ण ४ कास्यपदक जितेर ओखलढुंगा तेश्रो भएका थिए । ऐतिहासिक रुपमा सम्पन्न प्रतियोगितामा तेह्रथुमले अनुशासित टिम, नवलपरासीले उत्कृष्ट टिम व्यावस्थापन तथा खोटाङका नबिन राई र सिराहका निरमाया आले मगरले उत्कृष्ट खेलाडीको पुरस्कार हात पारेका थिए ।
प्रतियोगिताका प्रथम टिम खोटाङले नगद ५० हजार, दोश्रो टिम सोलुखुम्बुले ३० हजार र तेश्रो टिम ओखलढुंगाले २० हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्