अर्वुद रोगमा जोशीको तेस्रो कार्यकाल



हेटौंडा,(नेस) । नेपाल अर्वुद रोग निर्वारण संस्था मकवानपुरको सभापतिमा पुनः कपिला जोशी चयन भएकी छन् । जोशीको यो तेस्रो कार्यकाल हो ।
संस्थाको शुक्रबार सम्पन्न १६ औं साधारणसभाबाट जोशीको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संस्था उपसभापतिहरुमा भीमप्रसाद तिमल्सिना र माधव अधिकारी, सचिव शंकरमान श्रेष्ठ, सहसचिव जयप्रकाश घिमिरे, कोषाध्यक्ष रामकुमार बिष्ट र उपकोषाध्यक्ष रमा राना छन् ।
सदस्यहरुमा सुरक्षा ढुंगाना, वुद्धराम श्रेष्ठ, विश्वनाथ रेग्मी, संग्राम श्रेष्ठ, लक्ष्मण महत, शोभा बस्नेत र नरेन्द्र महर्जन छन् । नया कार्यसमितिको कार्यकाल ३ वर्ष रहनेछ ।
कार्यक्रममा क्यान्सर रोगबारे सचेतना अभिवृद्धि गर्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिइएको थियो । संस्थाको साधारणसभामा हेटौंडा उपमहानगर प्रमुख हरिबहादुर महतले हाल क्यान्सरका कारण जीवन गुमाउनेको संख्या बढिरहेको भन्दै रोग लाग्न नदिन सचेतना अभिवृद्धिको काम गर्नु जरुरी रहेको बताए ।
उनले संस्थाले गरिरहेको कामको प्रशंसा गर्दै यसका लागि आवश्यक सहयोग उपमहानगरपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्था केन्द्रीय उपकोषाध्यक्ष प्रकाश खतिवडाले संस्थाले क्यान्सरबाट हुने जोखिम, लाग्न नदिन अपनाउनुपर्ने सावधानीलगायत बारे जानकारी गराएको बताउँदै समाजका हरेक क्षेत्रले यसबारे चनाखो हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्