सुदर्शनले बम पड्काए, प्रदीपले गरे पूरा करिडोर



अनिल खत्री, गुल्मी

देख्दाको भीर हो, खानी त खिर हो, देउ छोरी अर्बेनीमा’ चार वर्ष पहिलासम्म गुल्मीको अर्बेनीबासीले छोरी माग्न जाँदा यो उखान भनेर मात्र दुलहीको माइतीलाई फकाउनुपथ्र्यो। बीचमा ठूलो फाँट र गाउँ रहे पनि दुवैतिर ठूला पहराहरूका कारण गाउँबाट बाहिर जाने र आउने बाटो नभएकाले बुहारी भित्र्याउन पनि समस्या थियो। मुरीका मुरी धान फलाउने गाउँले पशुपालन गरेर पाथीका पाथी घिउ बेच्थे। खान लाउन र आर्थिकरूपमा गाउँमा कुनै कुराको अभाव थिएन, थियो त गाउँ बाहिर आवतजावत गर्ने मोटरबाटो।

२०५४ तिर वरिपरि मोटरबाटो खोल्ने लहर चल्यो। त्यहाँका जनता र नेता पनि सडक खोल्नका लागि पहल गरे। तर बीचमा थियो १४ किलोमिटर कडा चट्टान। त्यो बाध्यताले त्यहाँका जनता र नेताले धेरै विकल्प खोजे। उक्त समस्या समाधानका लागि गाउँलेले थुप्रै प्रयास गरे, चट्टानभित्र काटेर गोरेटो बाटो बनाउनसमेत सकेनन्। माओवादीले युद्ध गरिरहेको थियो। स्थानीय शिक्षक नरेन्द्रप्रसाद न्यौपानेलाई एउटा जुक्ति फुर्यो माओवादीले पड्काउने बम ल्याउने र बाटो खोल्ने।

‘त्यो बेला स्कुल बिदा भएपछि माओवादी खोज्दै रातारात भार्सेमा पुगेर गाउँको समस्या राखेँ’, उनी भन्छन्– ‘त्यतिबेलाका नेता सुदर्शन बरालको टोलीले आएर गोलाङखोलाको पहरोमा बम पड्काएपछि बाटो खन्ने काम शुरू भयो।’ त्यही उपाय अहिले अर्बेनीको मुहार फेर्ने आधार मात्र बनेन भारतदेखि चीनसम्म जोड्ने कालीगण्डकी करिडोर बन्यो।

पहिला लहरा समाउने भीर अहिले भारत–चीन जोड्ने मार्ग बन्यो ।
भीरमा लहरा समाउँदै घरखर्च लिन हिँडेका सँगैको दौंतरी पूर्णबहादुर घोप्टेसालबाट कालीगण्डकीमा खसेर मरेको ठाउँमा अहिले सरर्र जिप हिँड्दा गुल्मी जयखानीका जोगप्रसाद क्षेत्री अहिले पनि भक्कानिन्छन्।
‘भीरमा लहरा समाएर हिँड्ने हो, डोको बोकेर कुरा गर्दै हिँड्दा उछिट्टिएर कालीमा खस्यो, मेरो साथी विचरा, कस्तो मिल्थ्यांैं’, पुरानो कुरा सम्झँदै जोगप्रसाद भन्छन्– ‘कस्ले कल्पना गरेको थियो र यो लहरामा झुन्डिएर हिँड्ने ठाउँमा अहिले सरर्र मोटर गुड्ला भनेर। अहिलेजस्तो भए त मर्ने थिएन नि, विचरा⁄’

हिँड्ने गोरेटोको अभावमा खत्री जस्तै सास्ती व्यहोरेका गुल्मीको क्षेत्र नं. १ का आधा दर्जन, बागलुङ र पर्वतका एक दर्जन गाविसका गाउँले अहिले सरर्र मोटरमा हिँड्न पाउँदा निकै खुसी छन्। करिब १४ किलोमिटर पूरै पहाडी कडा चट्टान नेपाली सेनाले ब्लास्टिङ गरेर ७ मिटर चौडा सडक निर्माण गरेको छ।

अर्बेनी गाउँका भगवान् सुदर्शन
अर्बेनीका जनताले ठूलो पहल गरेर मोटरबाटो निर्माणको पक्रिया शुरू गरे पनि कालीगण्डकी करिडोरको सर्भे गर्ने समयमा अर्बेनी गाउँभन्दा तल सेतीबेनीबाट गरियो। अर्बेनीका जनता फेरि जिल्ल परे। २०६४ सालमा सुदर्शन बराल सभासद निर्वाचित भएपछि उनीहरूले फेरि हारगुहार गरे अनि पुनः गाउँबाट बाटो खन्नेगरी सर्भे गरियो।

‘हामी बीच परियो, अब तलबाट खनेपछि पहिरोले न गाउँ रहन्छ, न बाटो भनेर हामीले कुरा गर्यौं’, अर्बेनीका नरेन्द्र न्यौपानेले भने– ‘उहाँले सर्भे टोली ल्याएर गाउँबाट सर्भे गराउनुभयो, पछि राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसाललाई ल्याएर यहींबाट बाटो खन्ने निर्णय गराउनुभयो, त्यसैले सुदर्शन त अर्बेनीका लागि भगवान् जस्तै हुनुभयो।’

हिँडेर आउँदिन भनेका प्रदीप गाडी चडेर आए
शुरूमा चट्टान फुटान नसकेपछि रुद्रवेणी–हर्मीर्चार–पूर्तिघाट–कुश्मिसेरा–बागलुङ भनेर बाटो दर्ता गरेको र त्यसबाट बाटो खन्न सक्ने कुनै उपाय नलागेपछि २०५८ सालमा पश्चिमाञ्चलका १६ जिल्लाका जनप्रतिनिधि पाल्पाको श्रीनगरमा भेला भएर पश्चिमाञ्चललाई जोड्ने सडक बनाउने निर्णय गरेको करिडोर सरोकार समूहका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो।

२०५७ सालको फागुनमा कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाबाट ५० लाख रुपियाँ विनियोजन गरी काम शरू गरिएको र २०६२ मा असारको १४ गते तम्घास बजार पिच गर्ने विषयको अध्ययन गर्ने क्रममा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष शंकर शर्मा आउँदा कालीगण्डकी करिडोरको हवाई सर्भे गराइएको थियो।

त्यसपछि गाउँमा पुगेका प्रदीप ज्ञवालीलले अब मोटर नचढी आउँदिन भनेर प्रतिबद्धता जनाएका थिए। अघिल्लो वर्ष करिडोरको उद्घाटन गर्न उनी गाडी चढेर पुगे। ‘बोलीमा पक्का हुनुहुँदोरहेछ, आखिरमा मोटर चढेरै आउनुभयो’, कालीगण्डकी गाउँपालिका २ अर्बेनीका वडाअध्यक्ष देवीप्रसाद न्यौपानेले भने– ‘मोटर चल्न थालेपछि अहिले यो क्षेत्रकै मुहार खुसी छ।’

लीलामणि पौडेल र युवराज भुसालको कुटनीतिक सहयोग
२०५९ साल माघ ११ गते काठमाडांै बागबजारको मदरल्याण्ड होटलमा लुम्बिनीदेखि लोमान्थाङसम्मका सरोकारवाला, प्रशासक, जनप्रतिनिधिको बैठक बसेर मुस्ताङका सांसद श्रीमाया थकालीको संयोजकत्वमा सरोकार समिति गठन गरी बेलहिया–लोमान्थाङ–घोप्तान उत्तरदक्षिण कालीगण्डकी राजमार्ग नामकरण गरी रणनैतिक मार्गमा दर्ता भएपछि यसको विकासले गति लियो।

प्रतिक्रिया दिनुहोस्