कमल र पार्वतीलाई स्वर्ण



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल प्रहरी क्लबका खेलाडीहरु कमल श्रेष्ठ र पार्वती गुरुङले आठौं कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्।

सिनियर एकल पुम्सेको २९ वर्षमुनि तौल समूहअन्तर्गत पुरुषमा कमलले आफनै क्लबका जितबहादुर भोटेलाई हराएका हुन्। त्यस्तै महिलातर्फ पनि पार्वतीले प्रहरीकै नितालाई पराजित गरिन्। नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको ३० वर्षमाथि सिनियर पुरुष एकल पुम्सेमा नेपाल आर्मीका रेजिन रिमाल पहिलो भए। उनले प्रहरीका जग्दीशसिंह पालीलाई पराजित गरे। सोही स्पर्धाको महिलामा पोखराकी रेकमाया गुरुङ पहिलो भइन्। रेकमायाले आर्मीकी मिरा काफ्लेलाई पछि पारिन्।

जुनियर पेयर पुम्सेका पुरुषमा स्युचाटारका अस्मिन राउत र विनिता तामाङ पहिलो तथा जेसिजका नवीन श्रेष्ठ र मोनिका मगर दोश्रो भए। सोही स्पर्धाको सिनियर पुरुषमा प्रहरीका कमल श्रेष्ठ र पार्वती गुरुङले स्वर्ण तथा आर्मीका सन्जिव ओझा र निता गुरुङले रजत जिते।

टिम पुम्सेको पुरुषमा प्रहरीका प्रेमबहादुर लिम्बू, कमल श्रेष्ठ र जितबहादुर भोटे तथा महिलामा पनि प्रहरीका मिरा राना मगर, निर्मला विक र पार्वती गुरुङले शीर्ष स्थान हात पारे। सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको १४ वर्षमुनि पुरुष एकल पुम्सेमा ललितपुरका युकिन चौधरी पहिलो र कोटेश्वरका सोहन श्रेष्ठ दोश्रो भए। त्यसै स्पर्धाको महिलामा आर्मीकी रिता श्रेष्ठ पहिलो र स्युचाटारकी मोनिका रम्तेल दोश्रो बने।

पुरुष एकल पुम्सेका १७ वर्षमुनि जेसिजका नवीन श्रेष्ठ र स्युचाटारका अस्मिन राउत क्रमशः पहिलो र दोश्रो भए। उक्त स्पर्धाको महिलामा स्युचाटारकी नोमिता मोक्तानले स्वर्ण तथा आर्मीकी रोशनी श्रेष्ठले रजत हात पारे। जुनियर पुरुष ४२ केजी तौलसमूहमा कोटेश्वरका श्रीकृष्ण कार्की र सीतापाइलाका बिधान श्रेष्ठ फाइनलमा प्रवेश गरेका छन्।

प्रतिक्रिया दिनुहोस्