हिउँदमा थप विद्युत् ल्याउन नसकिने



ढल्केबर सबस्टेसन निर्माण पूरा गर्न पुनः ठेक्का
हिउँदमा थप विद्युत् ल्याउन नसकिने

हेमन्त जोशी, काठमाडौं ।
आगामी हिउँदमा ढल्केबर सबस्टेसनमार्फत् भारतबाट थप विद्युत् आयात गर्न नसकिने भएको छ। निर्माणको अन्तिम चरणमा रहेको २ सय २० केभी सबस्टेसनको काम रोकिएपछि भारतबाट थप ५० मेगावाट विद्युत् आयात गर्ने नेपाल विद्युत प्राधिकरणको योजना प्रभावित बनेको हो।

प्राधिकरणले ढल्केबर सवस्टेसन निर्माण कार्य सक्न पुनः ठेक्का आह्वान गरे पनि प्रसारणलाइन निर्माणका विषयमा भने ठोस निर्णय लिन सकेको छैन।

प्राधिकरणले चालू हिउँदमा नै ढल्केबर सबस्टेसनको निर्माणको काम पूरा गर्ने र हाल आयात भइरहेको विद्युत्मा थप ५० मेगावाट थपेर २ सय मेगावाट विद्युत् ल्याउने लक्ष्य लिइएको थियो। तर, सबस्टेसन निर्माणको काम अधुरै रहेपछि थप विद्युत् ल्याउन नसकिने देखिएको हो। नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले सबस्टेशन निर्माणका लागि नयाँ ठेक्का शुरु भए पनि यस वर्ष थप विद्युत् आयात गर्न नसकिने बताउनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै प्रवक्ता अधिकारीले भन्नुभयो–‘निर्माणको करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको भए पनि पूर्णरूपमा सञ्चालनमा ल्याउनका लागि ४ महिनाभन्दा बढी समय लाग्ने देखिन्छ। यसर्थ, यस हिउँदमा थप विद्युत् ल्याउन नसकिने भएको छ।’

चिनियाँ ठेकेदार कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग हेटौडा–बर्दघाट प्रसारण लाइनलगायत इनरुवा, हेटौडा र ढल्केबर सबस्टेसनको निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर, सीसीपीजीले निर्माणको काम रोकेर ठेक्का सम्झौताभन्दा बढी रकम माग गरेपछि सम्झौता रद्द गरिएको प्राधिकरणले जनाएको छ। प्रवक्ता अधिकारीले सीसीपीजीसँग हेटौडा बर्दघाट प्रसारणलाइनको मुख्य ठेक्का तोडिएपछि सोही ठेक्काअन्तर्गत रहेको सबस्टेसन निर्माणको काम पनि प्रभावित भएको बताउनुभयो। ढल्केबर सबस्टेसनको काम पूरा गर्न १० प्रतिशत जति मात्रै बाँकी थियो भने इनरुवा र हेटौडा सबस्टेसनको काम शुरुवात चरणमा रहेको थियो।

प्राधिकरणले ढल्केबर सवस्टेसन निर्माण कार्य सक्न पुनः ठेक्का आह्वान गरे पनि प्रसारणलाइन निर्माणका विषयमा भने ठोस निर्णय लिन सकेको छैन।

प्रवक्ता अधिकारीका अनुसार सबस्टेसन निर्माणको काम अधिकांश पूरा भइसकेकाले बाँकी रेहको काम सक्न चार महिनाजति समय लाग्नेछ। तर, पुनः ठेक्कालगायतका प्रक्रियामा जानुपर्ने भएपछि यसबाट उत्पन्न हुने परिणाम आगामी हिउँदको विद्युत् भार व्यवस्थापनमा देखिने अधिकारीको भनाइ छ।

सीसीपीजीसँगको ठेक्का सम्झौता रद्द भए पनि सबस्टेसन निर्माणको कार्यप्रगति मूल्यांकन अनुगमन गर्न नेपाल विद्युत प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनको संयुक्त टोली खटाइएको थियो। उक्त टोलीले स्थलगत अनुगमन गरी कार्यप्रगति विवरण प्राधिकरणलाई बुझाइसकेको छ। परामर्शदाता कम्पनीका रूपमा रहेको पावर ग्रिड कर्पोरेसन र प्राधिकरणको टोलीले हालसम्म भएको कार्यप्रगति विवरण र गर्न बाँकी कामको विवरण आयोजना व्यवस्थापन महाशाखालाई बुझाएको हो। सोही विवरणका आधारमा बाँकी रहेको निर्माण कार्य पूरा गर्न प्राधिकरणले पुनः ठेक्कालगायतका प्रक्रिया चालिसकेको जनाएको छ।

अन्तरदेशीय प्रसारणलाइनसँग जोडिएको सबस्टेसन निर्माणको ९० प्रतिशत काम साउन महिनामै सकिएको भए पनि ठेकेदार कम्पनी सीसीपीजीले विभिन्न कारण देखाएर काम छोडेको थियो। हेटौडा–बर्दघाट प्रसारण लाइनको समेत निर्माण जिम्मा पाएको ठेकेदार कम्पनीले लामो समयसम्म पनि काम शुरु नगरेपछि प्राधिकरणले ठेक्का सम्झौता तोड्दै बैंक ग्यारेन्टीसमेत जफत गरेको थियो।

सीसीपीजीले प्राधिकरणसँग ठेक्का सम्झौताभन्दा बढी रकम माग गरेपछि यिनीहरूबीच तिक्तता बढेको बुझिएको छ। यही विवादबीच ठेकेदार कम्पनीले रकम भुक्तानीमा समस्या देखिएको भन्दै काम रोकेपछि प्राधिकरणले ठेक्का सम्झौता रद्द गर्ने निर्णय लिएको हो। यही विवादबीच साउन महिनामा केही समय काम रोकेको थियो। तर, तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले कार्तिक महिनाभित्रै काम सक्न निर्देशन दिएपछि केही समय काम सुचारु गरेको थियो।

हाल ढल्केबर सबस्टेसनमार्फत १ सय ४५ मेगावाट विद्युत् भारतबाट नेपालमा भित्रिरहेको छ। निर्माण भइरहेको सबस्टेसनमार्फत थप ५५ मेगावाट गरी उक्त प्रसारण लाइनमार्फत् २ सय मेगावाट विद्युत् आयात गर्ने लक्ष्य लिइएको छ। भारतबाट थप विद्युत् आयातका लागि महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको ढल्केबर सबस्टेसनको निर्माणको काम पूर्णरूपमा सकेर आगामी अक्टोबरसम्म भारतबाट २ सय मेगावाट बिजुली आयात गर्ने प्राधिकरणको योजना थियो। तर, सम्झौता रद्द भएपछि प्राधिकरणलाई समयमा काम सक्न थप चुनौती देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्