सडक दुर्घटनामा चार बालबालिकाको मृत्यु



पेरिस, (एजेन्सी)
दक्षिणी फ्रान्सको पेर्पिग्नाननजिक एउटा ट्रेन अर्को बससँग ठोकिँदा कम्तीमा चारजना बालबालिका मारिएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ। बिहीबार मिल्लास र सेन्ट फेलिउ डि अमाउनटबीच घटेको सो घटनामा अन्य १९ जना घाइते भएको र तीमध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

उक्त स्कुल बसमा ११ देखि १५ वर्ष उमेरका बालबालिका रहेको बताइएको छ। स्थानीय एक अधिकारीले दुर्घटनालगत्तै आपत्कालीन उद्धार सेवा उपलब्ध गराइएको बताएका छन्।

यातायात मन्त्री एलिजावेथ बोर्ने राजधानी पेरिसदेखि करिब ८ सय ५० किमि दक्षिणमा पर्ने घटनास्थल पुगेकी छिन्। घटनाका बेला उक्त ट्रेनमा सवार बारबारा नामक एक प्रत्यक्षदर्शी महिलाले दुर्घटना अत्यन्तै भयानक रहेको तथा ट्रेन लिकबाट उछिट्टिएको हुनुपर्ने बताएकी छिन्। राम्रो सवारी साधन र ट्राफिक नियमहरुको कडा ढंगले पालना गरिने विकसित युरोपेली मुलुक फ्रान्समा सडक दुर्घटना कमै मात्रामा हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस्