बृद्धभत्ता बढाएर ज्येष्ठ नागरिकको समस्या समाधान हुँदैन



भक्तपुर, (नेसं)
सरोकारवालाहरूले ज्येष्ठ नागरिकमैत्री नीति बनाउनका लागि सरकारलाई सुझाव दिएका छन। अबको २० देखि ३० वर्ष नेपालमा ज्येष्ठ नागरिकको संख्या तेब्बर हुने भन्दै उहाँहरूले अहिलेदेखि नै सरकारले ज्येष्ठ नागरिकमैत्री नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय ज्येष्ठ नागरिक कोष, मञ्जुका फाउन्डेसन र एजिङ नेपालले शुक्रबार संयुक्त रूपमा गरेको अन्र्तक्रिया कार्यक्रममा उहाँहरूले ज्येष्ठ नागरिकले अपनत्व गर्ने गरी सरकारले ज्येष्ठ नागरिकमैत्री नीति बनाउनुपर्नेमा जोड दिनुभयो। अहिले नेपालमा करिब २७ लाख ज्येष्ठ नागरिक रहेका छन्।

एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतमले सरकारले ज्येष्ठ नागरिकका लागि बृद्धभत्ता मात्र वितरण गरेर उहाँहरूको समस्याको समाधान नहुने भन्दै अहिलेदेखि नै सरकारले ज्येष्ठ नागरिकमैत्री निर्माण गर्न सरकारलाई सुझाव दिनुभयो।

एजिङ नेपालले नेपालमा ज्येष्ठ नागरिकका विषयमा अध्ययन र अनुसन्धान गरी सरकारलाई सुझाव दिन सधंै तयार रहेको उहाँको भनाइ छ। राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यले ज्येष्ठ नागरिकले अपनत्व गर्ने गरी सरकारले नीतिनिर्माण गर्नुपर्ने बताउनुभयो। उहाँले तत्कालका लागि बृद्धभत्ता मात्र वितरण गरेर ज्येष्ठ नागरिकका समस्या समाधान नहुने भएकाले अहिलेदेखि नै सरकारले ज्येष्ठ नागरिकमैत्री नीति निर्माण गर्नुपर्छ। ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वस्थ्य बीमा, ज्येष्ठ नागरिकहरूले गर्न सक्ने कामका लागि सरकारले निरब्याजी ऋण उपलब्ध गराउनुपर्ने, प्रत्येक टोलमा ज्येष्ठ नागरिक घुलमलि गर्ने क्लब निर्माण गर्नुपर्ने र नयाँ पुस्तालाई ज्येष्ठ नागरिकप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक बनाउँदै जानुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा कोषका सदस्य सचिव जयप्रकाश केरुले ज्येष्ठ नागरिकका हरेक समस्याप्रति सरकार सजक र सचेत रहनुपर्ने भन्दै त्यसका लागि आफूहरू सरकारलाई सधैं सहयोग गर्न तयार रहेको बताउनुभयो। प्राडा. पुष्ककमल सुवेदीले अहिले ज्येष्ठ नागरिकले भोग्दै आएका समस्या र सोको समाधान बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्