जनताको खबरदारी आवश्यक



नेपाल समाचारपत्र
काठमाडौं
नेकपा एमालेका महासचिव तथा काठमाडौैं क्षेत्र नं ५ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ईश्वर पोखरेलले वाम गठबन्धनले निर्वाचनका समयमा गरेका प्रतिबद्धता इमानदारीपूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मंसिर २१ गते भएको निर्वाचनमा भारी मतले निर्वाचित हुनुभएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र एमालेका युवा नेता दीपक निरौला प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकोमा धापासी बुद्धिजीवी समाजले बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो।

सो कार्यक्रममा बोल्दै पोखरेलले निर्वाचनका बेला आफूले गरेका प्रतिबद्धता कार्यान्वयन गराउन बुद्धिजीवीहरू र आमनागरिकहरूले खबरदारी पनि गर्नुपर्ने बताएका छन्। पोखरेलले भने– ‘निर्वाचनका बेला प्रतिबद्धता भाषणमा मात्र होइन लेखेर गरेका छांै।’ ती प्रतिबद्धता दृढतापूर्वक पूरा गर्न लाग्ने बताउँदै यसका लागि दबाब र खबरदारी गर्ने जिम्मा जनताको पनि भएको बताए।

‘हामीे काम गर्छौं, ढुक्क हुन म आग्रह गर्दछु ,मत दिएर विजय बनाउनुभएको छ। त्यो मतको सम्मान गर्दैै तपाईंहरूले गर्व गरेर हिँड्न सक्ने हामी बनाउछौं, यो हाम्रो प्रतिबद्धता भयो, तर कहीँकतै बरालिन, अलमलिन खोज्यौं भने दबाब दिने र खबरदारी गर्ने र निगरानी गर्ने काम तपाईंहरूको पनि हो, अविछिन्न रुपमा गर्नुहुनेछ’ –उनले भने।

पोखरेलले जनतासँग दूरी नबढोस् भन्ने उद्देश्यका साथ निश्चित समय निर्धारण गरेर महिनामा १ पटक २ घण्टा भेटघाटको कार्यक्रम बनाउने बताउँदै यस्ता कार्यक्रममा जनताका गुनासा अप्ठ्याराहरू सुन्ने पनि बताए।

उनले भने– ‘महिनामा एकपटक भेटघाटको कार्यक्रम बनाउदै छाँै, कार्यक्रमको उद्देश्य जनताको मनमा कुराहरू थुप्रिएर नबसून्् र जनताले आफ्ना प्रतिनिधिलाई आफ्ना गुनासा अफ्ठ्यारा सुनाउन नपाएर र उकुसमुकुस हुन नपरोस् भन्ने नै हो।’ काठमाडौं क्षेत्र ५ ‘ख’बाट निर्वाचित दीपक निरौलाले यस क्षेत्रको समृद्धि र विकासका लागि आफूले प्रभावकारी रूपमा काम गरी मत दिने नागरिकको मन खुसी बनाउने उल्लेख गरेका छन्। कार्यक्रममा धापासी बुद्धिजीवी समाजका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्तले कुराभन्दा काम गरेर देखाएमा १ हजार प्रश्नको जवाफ एउटै कामले दिने बताएका छन्।

समाजका सचिव एवं अधिवक्ता सूर्यकुमार बिमलीले स्वागत गर्दै अब बन्ने स्थायी सरकारले जनताका अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरेका छन्। काठमाडांै क्षेत्र ५ का बुद्धिजीवी, आम नागरिकहरूको तर्फबाट धापासी बुद्धिजीवी समाजले हस्तान्तरण गरेको बधाई तथा सम्मानपत्रमा भनिएको छ, पार्टीको महत्वपूर्ण पदमा रहेर नेकपा एमालेलाई पहिलो शक्ति बनाउन यहाँको नेतृत्वदायी भूमिका रहेकाले पनि आगामी दिनमा यहाँले संसद् र महत्वपूर्ण भूमिका रहेकाले अब संसद् र कार्यकारिणी पदमा रही देशको समृद्धि र विकास गरी नयाँ नेपाल निर्माण गर्न सफल हुनुहुनेछ भन्ने विश्वाससहित सफलताको कामना गर्दछांै।

प्रतिक्रिया दिनुहोस्