सरकार गठन गर्न ओली–प्रचण्ड परामर्श



काठमाडौंं, (नेस)
वाम गठबन्धनका प्रमुख दुई अध्यक्षबीच नयाँ सरकार गठन र पार्टी एकताका बारेमा परामर्श भएको छ। प्रत्यक्षतर्फको सबै क्षेत्रको मत परिणामअनुसार वाम गठबन्धनले दुई तिहाइ बहुमत हासिल गरेपछि नयाँ सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।

शुक्रबार भएको ओली र प्रचण्डबीचको भेटमा नयँ सरकार सञ्चालन र पार्टी नेतृत्व कसले गर्ने भन्ने विषयमा गृहकार्य शुरू भएको छ। निर्वाचनअघि ओली र प्रचण्डले निर्वाचनलगत्तै पार्टी एकता गर्ने सार्वजिनिक रूपमा घोषणा गर्नुभएको थियो। तर सरकार गठन भएपछि मात्र पार्टी एकताको विषयले प्रवेश पाउने भएको छ। निर्वाचन अघि ६०/४० को भागवण्डा गरेर निर्वाचनमा होमिएका एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने यसअघि नै सहमति भइसकेको छ।

भेटमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठनलगायतको विषयमा दुई अध्यक्षबीच छलफल भएको प्रचण्डका प्रेस संयोजक मनहरि तिम्सिनाले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो,–‘पार्टी एकता प्रक्रिया अगाडि बढाउन दुवै पार्टीले गृहकार्य गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ।’ भेटमा ओली र प्रचण्डले नयाँ सरकार गठन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्