मेलम्चीको पानी अर्को वर्ष मात्रै



सुरेश तामाङ, काठमाडौं
काठमाडौंबासीले मेलम्ची खोलाको पानी खान अब अर्काे एक वर्ष कुर्नुपर्ने भएको छ। आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची उपआयोजना–२ ले मेलम्चीको पानी अर्काे वर्ष मात्रै वितरण गर्ने जनाएपछि काठमाडौंबासीमा निरासा छाउन थालेको छ।

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीला ढकालले काठमाडौंबासीले अर्काे वर्षदेखि मात्रै खानेपानी प्रयोग गर्न पाउने बताउनुभयो। उहाँले भन्नुभयो– ‘वर्षा शुरु हुनुअगावै खानेपानीको पाइपलाइन बिच्छ्याएर सडक कालोपत्रे गर्छौं। त्यो काम सकेपछि अर्काे वर्षको सुख्खा याममा मात्रै यहाँका स्थानीयले पानी पिउन पाउनेछन्। हामी घरघरमा पानी पुर्याउने योजनामा छौं।’

अहिले उपत्यकाका विभिन्न वितरण सञ्जालमा भल्ब चेम्बर बनाउने, पाइपलाइन विस्तार गर्ने, खानेपानी ट्यांकी बनाउने, पाइप बिच्छ्याउन खनेको सडक कालोपत्रे गर्ने, घरघरमा धारा जडान गर्ने काम भइरहेको निर्देशनालयले जानकारी दिएको छ।
निर्देशनालयका प्रवक्ता ढकालले उपत्यकामा भइरहेको कामको बारेमा जानकारी गराउँदै भन्नुभयो– ‘भल्ब चेम्बर बनाउने कार्य भइरहेको छ। यो ३ महिनाभित्र सम्पन्न गर्ने हामीले लक्ष्य लिएका छौं।’

उहाँका अनुसार पाइपलाइन विस्तार गर्ने कार्य ९३ प्रतिशत सम्पन्न भइसकेको छ। साना पाइपलाइन ३५ किमि र ठूलो पाइपलाइन ७ किमि अझै विस्तार गरी बिच्छ्याउन बाँकी छ।

अहिले निर्देशनालयले पाइपलाइन विस्तार गर्दा भत्काइएको सडक पनि धमाधम कालोपत्रे गरिरहेको छ। यो काम ३५ प्रतिशत सकिएको निर्देशनालयले जनाएको छ। त्यस्तै गरी उपत्यकाको विभिन्न ठाउँमा बनाउने भनिएको ९ पानी ट्यांकी मध्ये ८ सम्पन्न भइसकेको र १ को निर्माण शुरू गर्ने तयारीमा रहेको निर्देशनालयले जनाएको छ।

मेलम्चीको पानी ल्याएर फेरि वितरण सञ्जाललाई चेकजाँच गर्ने तयारी निर्देशनालयले गरेको प्रवक्ता ढकालले बताउनुभयो। गएको भदौमा मात्रै वितरण सञ्जालको बाग्मतीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर चेकजाँच गरेको थियो। काठमाडौंबासीलाई स्वचालित प्रणालीबाट पानी खुवाउने निर्देशनालयको योजना रहेको छ। यसका लागि निर्देशनालयले बिडिङ गर्ने तयारीसमेत गरेको छ। वितरण सञ्जालमा पानी सञ्चालन भइसकेपछि जडान हुने स्वचालित प्रणालीलाई दुई वर्षभित्र सम्पन्न गर्ने निर्देशनालयले लक्ष्य राखेको छ।
त्यस्तै गरी मेलम्ची उपआयोजना–१ ले काठमाडौंबासीलाई खानेपानी खुवाउन सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गरिसकेको छ भने सुन्दरीजलसम्म मेलम्चीको पानी ल्याउन सुरुङ खन्ने कामलाई तीव्रता दिएको छ।

सुरुङ सम्पन्न हुन अब ७ सय ४० मिटर बाँकी छ। अहिले निर्माण पक्षले दैनिक १५ मिटर खनिरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताउनुभयो।

उहाँका अनुसार आउँदो जनवरीभित्र सुरुङ खन्ने कार्य सम्पन्न गर्न ठेकेदार पक्ष लागिपरेको छ। अहिले अम्बाथान–ग्याल्थुम र ग्याल्थुम–सिन्धुको ४ खण्डमा सुरुङ खन्ने कार्य भइरहेको छ।

हालसम्म २३ अर्ब ५४ करोड खर्च गरिसकेको आयोजनाले सुरुङ खन्ने कार्य ९७ प्रतिशत सम्पन्न गरिसकेको छ। २ सय ४० मिटर बाँकी रहेको अम्बाथान–ग्याल्थुम खण्डमा यही डिसेम्बर र ग्याल्थुम–सिन्धुखण्डको सुरुङ ५ सय मिटर जनवरीभित्र बे्रक थ्रु गर्ने लक्ष्य निर्माण पक्षले लिएको छ।

प्रतिक्रिया दिनुहोस्