को बन्ला प्रदेश नम्बर ३ को मुख्यमन्त्री ?



नेपाल समाचारपत्र, काठमाडौंं
संघीय सरकार गठनको तयारीसँगै प्रदेशसभाका मुख्यमन्त्री को बन्ने भन्ने दौड शुरू भएको छ। मुख्यमन्त्री बन्नका लागि वाम गठबन्धनका तर्फबाट निर्वाचित सांसदहरूले गृहकार्य अगाडि बढाएका छन्।

प्रदेशसभा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनले दुई तिहाइ बहुमत वाम गठबन्धनले ल्याएको छ। वाम गठबन्धनकै नेतृत्वमा प्रदेश सरकार गठन हुने भएका एक दर्जनभन्दा बढी मुख्यमन्त्रीको आकांक्षी देखिएका छन्। नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदहरू मुख्यमन्त्री बन्नका लागि पार्टीको नेतृत्वसँग लबिङ गर्न थालेका छन्। ६६ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ३ मा ६६ मध्ये ५७ सिट वाम गठबन्धनले जितेको छ।

मुख्यमन्त्रीका लागि झन्डै एक दर्जन आकांक्षी देखिएका छन्। मुख्यमन्त्रीका लागि नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, एमालेका पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ, पशुपति चौलागाईं, अरुण नेपाल, कैलाश ढुंगेललगायतले दौडधुप बढाएका छन्। एमालेभित्र प्रमुख दाबेदारका रूपमा उपाध्यक्ष शाक्य रहनुभएको छ। केशव स्थापितले पनि निर्वाचनअघि नै ३ नम्बर प्रदेशको मुख्यमन्त्री आफू हुने सार्वजनिकरूपमा नै घोषणा गर्नुभएको थियो।

प्रदेश नं ३ मा एमालेले ४२, माओवादी केन्द्रले १५, कांग्रेसले ७ तथा नेपाल मजदुर किसान पार्टी र नयाँ शक्ति नेपालले एक÷एक सिट जितेका छन्। प्रदेश नं ३ मा काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, दोलखा, रामेछाप, सिन्धुली, रसुवा र नुवाकोट जिल्ला रहेका छन्।
नेकपा एमालेका पोलिटब्युरो सदस्य चौलागाईंले मुख्यमन्त्रीका लागि आफूले दाबी गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘म प्रदेश नम्बर ३ को मुख्यमन्त्री भए विकास र समृद्धि नयाँ युग शुरुआत गर्छु।’ प्रदेशसभाको अन्तिम परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभा गठन हुने संवैधानिक व्यवस्था रहेको छ। प्रदेश नं ३ को अस्थायी मुकाम मकवानपुरको हेटौंडा तोकिएको छ।

एमालेले नै मुख्यमन्त्री पाउने करिब निश्चित भएकाले एमालेभित्र मुख्यमन्त्रीको बारेमा छलफल शुरू भएको छ। माओवादी केन्द्रले मुख्यमन्त्रीमा आफूहरूको दाबी नभए पनि बाँकी मन्त्रालयको बारेमा पनि गृहकार्य अगाडि बढाएको छ। १५ सिट जितेको माओवादी केन्द्रले प्रदेश सरकारको गृहमन्त्रीका लागि लबिङ थालेको छ।

प्रतिक्रिया दिनुहोस्