थ्रेसहोल्डले डुबायो साना दललाई



सुनील महर्जन, काठमाडौं
अब बन्ने संसद्मा पाँचवटा दलले मात्र राष्ट्रिय मान्यता पाउने संकेत देखिएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुग्दा पाँच दलले राष्ट्रिय मान्यता पाउन आवश्यक तीन प्रतिशतको ‘थे्रस होल्ड’ कटाएका छन्।

राजनीतिक दलसँग सम्बन्धित ऐनले राष्ट्रिय मान्यता पाउन प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा न्यूनतम एक सिट जित्नुपर्ने र समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधित्वका लागि दलहरूले ल्याउनुपर्ने न्यूनतम मतको सीमा अर्थात् ‘थ्रेसहोल्ड’ तीन प्रतिशत तोकेको थियो।

न्यूनतम मत सीमा वा थ्रेसहोल्डमा व्यवस्था गरिएअनुसार समानुपातिकतर्फ सदर भएको मतको कम्तीमा ३ प्रतिशत ल्याउने दल मात्र संघीय संसद्मा उपस्थित हुनेछन्। यसले गर्दा अब बन्ने संसद्मा दलहरूको संख्या ≈वात्तै घट्ने भएको छ।

थे्रसहोल्ड कटाएका दलहरूमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार समानुपातिकतर्फ ५ दलले थ्रेसहोल्ड कटाइसकेका छन् भने अन्य केहीले त्यसका लागि संघर्ष गरिरहेका छन्। ‘समानुपातिकबाट सिट पाउने सन्दर्भमा गरिएको व्यवस्थाअनुसार यसपटक समानुपातिकमा थ्रेसहोल्ड पार गर्न सक्ने दलहरू सीमित हुने देखिएको छ।’ –उहाँले भन्नुभयो।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त पछिल्लो विवरणअनुसार, हालसम्म ८८ लाख ३५ हजार ८ सय ६८ मतगणना सम्पन्न भएको छ। प्राप्त मत परिणामअनुसार, नेकपा एमालेले २९ लाख ९७ हजार १ सय ३० मत, नेपाली कांग्रेसले २९ लाख ९ हजार २ सय ९३, नेकपा माओवादी केन्द्रले १२ लाख २ हजार ३२, संघीय समाजवादी फोरम नेपालले ४ लाख २१ हजार ५ सय २८, राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ८३ हजार ७ सय ६ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सिट जिते पनि चार दलले थे्रस होल्ड कटाउन सकेनन्। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक)ले ८३ हजार १ सय ४३, नयाँ शक्ति पार्टी नेपालले ७६ हजार १ सय ९४, नेपाल मजदुर किसान पार्टीले ५२ हजार ६ सय ९३ मत ल्याएका छन्। संसद्मा ती दलहरूको हैसियत स्वतन्त्रको दलको हैसियतमा सीमित हुनेछ।

अन्य दलले ३ लाख २१ हजार ८ सय १६ मत प्राप्त गरेका छन्। त्यसैगरी प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ८९ हजार २ सय ८० मत र विवेकशील साझा पार्टीले १ लाख ९९ हजार ५३ मत ल्याएको छ। आयोगका अनुसार कुल सदर मतको तीन प्रतिशत नकटाउने दलको मत हिसाब हुनेछैन।

पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७३ जिल्लाको मतगणना कार्य सकिएको छ। अब ४ जिल्लामा मतगणना कार्य जारी रहेको छ। मतगणना जारी रहेका जिल्लामा सुनसरीको क्षेत्र नं. २ र ३, सर्लाहीको क्षेत्र नं. २ र ३, सुर्खेतको क्षेत्र नं. १ र कैलालीको क्षेत्र नं. १ को मतगणना जारी रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रले जनाएको छ।

समानुपातिकतर्फ ८८ दलले निर्वाचनमा भाग लिएका थिए। प्रत्यक्षतर्फको सबै नतिजा आइसक्दा केबल ९ वटा दलले मात्र कम्तीमा एक सिट जितेका छन्। साथै १ जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा थ्रेसहोल्ड नराख्दा साना ठूला गरी ३१ दलले व्यवस्थापिकामा प्रतिनिधित्व गरेका थिए। प्रदेशसभाको समानुपातिकतर्फ कम्तीमा डेढ प्रतिशत मत ल्याउने दलले मात्र प्रदेशसभामा उपस्थित हुन पाउनेछन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ६० को व्यवस्थाअनुसार सबै निर्वाचन क्षेत्रबाट आयोगले विवरण प्राप्त गरिसकेपछि आयोगले दलले प्राप्त गरेको कुल सदर मत संख्याको अनुपातमा मतपरिणाम विभाजक सूत्रका आधारमा निर्वाचित हुने सांसद संख्या तय गर्ने आयोगले जनाएको छ।

दलहरूले प्राप्त गरेको कुल सदर मतलाई भाग गरी प्राप्त गर्ने सिट संख्या बाँडफाँड गर्दा कुनै सिटमा भागफल बराबर भएमा गोला हाली सिट बाँडफाँड छिनोफानो हुनेछ। मतपरिणाम विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्धतिले निरन्तर भाग लगाइनेछ। यसअनुसार दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजक अंकले भाग गरिन्छ। उल्टो क्रमबाट १, ३, ५, ७, ९ जस्ता बिजोर अंकले भाग गरी सिट निर्धारण गरिन्छ।

सिट संख्या ठूलो भागफलबाट सानोलाई बाँडफाँड गर्दै तोकिएको सिट नसकिँदासम्म बाँडफाँड गरिनेछ। सिट बाँडफाँड गर्दा कुनै पनि दलले जतिसुकै मत प्राप्त गरेको भए पनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार संख्यामा सीमित रही सिटको बाँडफाँड हुन्छ।
न्यूनतम मत सीमा वा थ्रेसहोल्डमा व्यवस्था गरिएअनुसार समानुपातिकतर्फ सदर भएको मतको कम्तीमा ३ प्रतिशत ल्याउने दल मात्र संघीय संसद्मा उपस्थित हुने भएकाले अब बन्ने संसद्मा दलहरूको संख्या वात्तै घट्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्