साफ यू–१५ फुटबल खेल्न २० सदस्यीय महिला टोली बंगलादेशतर्फ



काठमाडौँ । बंगलादेशमा हुने साफ यू–१५ महिला च्याम्पियनसिपका लागि २० सदस्यीय नेपाली टोली शुक्रबार बंगलादेश प्रस्थान गरेको छ । पहिलो पटक आयोजना हुन लागेको उमेर समूह प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भारत र भुटानले सहभागिता जनाउनेछन् ।

बंगलादेशमा आइतबारबाट शुरु हुने साफ अन्डर फिप्टिन महिला च्याम्पियसिप प्रतियोगितामा सहभागी हुन नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो । दक्षिण एसियाका चार देश नेपाल, भारत, भुटान र बंगलादेशले सहभभागिता जनाउने टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले एक कार्यक्रम गरी विदाई गरेको छ ।

उमेर समूहमा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसाथ नेपाली टोलीले अभ्यास गरेको छ ।

राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक बंगलादेशसँग पुस २ गते ढाकास्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा खेल्नेछ ।

दोस्रो खेलमा नेपालले पुस ४ गते चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ भने पुस ६ गते अन्तिम खेल भुटानसँग प्रतिस्पर्धा गर्नेछ । महिला फुटबल अन्र्तगत दक्षिण एसियामा अब्बल मानिएको नेपालको लक्ष्य उपाधि उचाल्ने छ ।

राउण्ड रोविनका आधारमा खेलाइने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । प्रतियोगितामा सहभागिता जनाउने नेपाली टोलीको विदाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले गरे ।

प्रतिक्रिया दिनुहोस्