कर्मचारीले कर उठाउन थालेपछि ठेकेदार पन्छिए !



रविन भट्टराई, ताप्लेजुङ । ताप्लेजुङमा जिल्ला समन्वय समितिका कर्मचारीनै कर संकलनमा जुटेका छन् । ढुंगा, गिट्टी र बालुवाको लागि पटकपटक आह्वान गर्दा पनि ठेक्का नलागेपछि जिल्ला समन्वय समितिका कर्मचारीले आफैं निकासी कर संकलन गर्न थालेका हुन् ।

सदरमुकाम फुङ्लिङ नजिकै मेची राजमार्गको सशस्त्र प्रहरी बल कञ्चनजंघा गुल्मको चेकपोस्ट छेउमा बसेर कर संकलन सुरु गरीएको स्थानिय विकास अधिकारी नरहरि भण्डारीले जनकारी दिनुभयो ।

भण्डारीका अनुसार गत वर्ष उठेको रकमलाई लक्षित गरी चार पटकसम्म ठेक्का आह्वान गरिएको थियो तर चारैपटक कसैले पनि आवेदन नदिएपछि कात्तिक १७ गते कर्मचारीको बैठक बसेर कर्मचारी आफैं खटिने निर्णय भएको हो । गत वर्ष ढुंगा, गिट्टी र बालुवाबाट १० लाख १० हजार रुपैयाँ संकलन भएको थियो ।

यो आर्थिक वर्षमा पनि त्यही अनुपातमा संकलन हुने अपेक्षा गरिएको भण्डारीले बताए । ढुंगा, गिट्टी र बालुवाबाट प्रति ट्रयाक्टर २ सय ५० रुपैयाँ संकलन गर्ने गरीएको छ । बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा कर्मचारी विभाजन गरी आलापालो संकलन केन्द्रमा बस्ने व्यवस्था मिलाइएको भण्डारीको भनाई छ ।

साउन, भदौ र असोज तीन महिना बाहेक नौ महिना कर उठाउने गरीएको जिल्ला समन्वय समितिले बताएको छ । साउन, भदौ र असोज तीन महिना ढुंगा, गिट्टी र बालुवा संकलन गर्न नपाइने हुँदा कर संकलनका लागि नखटाईने समितिको भनाई छ । अहिले काबेली र तमोर नदीबाट आउने बालुवालाई विशेष ध्यान दिएको छ ।

काबेलीबाट दैनिक कम्तीमा १५ ट्रयाक्टर बालुवा सदरमुकाम भित्रने गरेको कर्मचारीहरु बताउँछन् । फागुन–चैत महिनामा सबैभन्दा धेरै आउँछ । सुकेटार, थेचम्बु लगायतका क्षेत्रका बाटोबाट धेरै गिट्टी आउने भएकाले त्यो क्षेत्रलाई पनि ध्यान दिएर कर उठाउने व्यवस्था मिलाउने योजना समितिले बनाएको छ ।

यता साउन, भदौ र असोज तीन महिना ढुंगा, गिट्टी र बालुवा संकलन गर्न नपाइने भए पनि सो समयमा पनि बढि निकासी भएको स्थानियको भनाई छ । सो समयमा कर संकलनका लागि कर्मचारी नखट्दा लाखौको कर छलेर ढुंगा, गिट्टी र बालुवा चोरी निकासी भए पनि जिल्ला समन्वय समितिले चासो नदिएको स्थानिय प्रत्यक्ष दर्षि राजकुमार मगरले बताए ।
किन ठेक्का लागेन ?
यस अघिका वर्षहरुमा ठेक्का आवहान गर्न साथ ठेक्का लिनेको जिल्ला समन्वय समितिमा लाईन नै लाग्ने गरेको थियो ।

ठेक्का लिएर स्थानिय ठेकेदारले दोखुको बहानन्दे र हेलिप्याड क्षेत्रबाट कर संकलन गर्दै आएका थिए । एक जानाले ठेक्कामा लिने र कर संकलनका लागि स्थानिय युवालाई परीचालन गर्ने गरीएको भिटिनथ्यो ।

तर अहिले ढुंगा, गिट्टी र बालुवाको कर संकलनबाट नाफा नहुने देखेका ठेकेदारको आँखा ठुला ठेक्कामा पर्न थालेको जिल्ला समन्वय समितिका कर्मचारी बताउँछन् । समितिले अघिल्लो वर्षको करलाई आधार मानेर केहि बढाउँदै ठेक्का आवाहान गर्ने हुँदा नाफा नहुने स्थानिय ठेकेदारको भनाई छ ।

गत वर्ष ठेक्का लिएका जंग बस्नेतका अनुसार धेरै बाँकी हुने र उठाउन नसकिने भएकाले एकपटक ठेक्का लिएकाले फेरि लिने आँट गर्दैनन् । ट्याक्टर सञ्चालक देखि अन्य निर्माणका काम गर्ने ठेकेदारले २÷३ सयमा के किचकिच गर्ने गरेको भन्छन्, सबै चिनजानकै हुन्छन् । कोहि पछि दिने भन्छन् त्यसैले पनि घाटा हुन्छ बस्नेतले भने । घाटाको व्यापार कसले गर्छर ? स्थानिय ठेकेदार प्रस्न गर्छन ।

प्रतिक्रिया दिनुहोस्