डेढ दशकमा पनि सकिएन सराङकोट धार्मिक पर्यटनको गुरुयोजना



  •  पुर्वाधार निर्माण गर्न महानगरपालिकासँग साझेदारी

  • आर्थिक संकलन गर्न महायज्ञ गरिदैं

धन बस्नेत, पोखरा । सराङकोटलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन शुरु गरिएको गुरुयोजना १४ वर्ष वित्यो । योजना पुरा १४ वर्षको अन्तरमा चारपटक महायज्ञ समेत लगाईयो । महायज्ञबाट संकलित रकमबाट केही काम गरियो । तर योजनाले मुर्त रुप भने अझै लिएको छैन् । फेरी पाँचौ चरणको महायज्ञ गर्दै गुरुयोजना साकार रुप दिने तयारीमा सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति जुटेको छ ।

२९ करोडको प्रस्तावित योजना १०० रोपनीमा बनाईने छ । आउँदो माघ २२ गतेदेखि महायज्ञ लगाउँदै ५ करोड संकलन गर्ने लक्ष्य छ । पोखरा लेखनाथ महानगरपालिकासँग १३ करोडको योजना पेश भई सम्झौताको तयारीमा छ । महानगरपालिका, डिएफआईडी÷इपिआईले पर्यटन पुर्वाधारको आवश्यक सर्भे गरिसकेको छ ।

निर्माणको चरणमा रहेको अन्नपूर्ण केवलकार प्रालि, उद्योगी व्यवसायी, राजनीतिक दल, स्थानीय सहयोगीहरुको संलग्नतामा बृहत्तर योजना अन्तर्गत केही पुर्वाधारका योजना प्रस्ताव गरिएको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

सराङकोटमा ५१ फिटको शिवमूर्ति स्थापना गर्ने लक्ष्य छ । मन्दिरको पूर्णताको लागि १०८ शिवलिङ, १०८ शहस्त्र धारा, विभिन्न देवदेवीको मन्दिर, विशाल बौद्ध मन्दिरको निर्माण गरिने छ । अध्यक्ष जिसीका अनुसार नेपालकै विशाल घण्ट शिव मन्दिर परिसरमा स्थापना गर्ने, धार्मिक प्रवचनको साथै बहुृउद्देश्यीय भवनको निर्माण गर्ने, ऐतिहासिक संग्रहालय निर्माण गर्ने र भ्युटावर, बालउद्यान पार्क, फुट ट्रयाक, हेलिप्याड, बनभोज स्थल आदिको निर्माण गरिने पहिलो चरणको योजना रहेको अध्यक्ष जिसीले पत्रकार सम्मेलनमा सुनाए ।

पोखरा लेखनाथमहानगरपालिका वडा नं १८ सराङकोटको गुरुयोजनालाई कार्यान्वयन ल्याउने तर्फ महानगपालिकाले सहयोग गर्ने प्रतिबद्धता मेयर मानबहादुर जिसीले गरेका छन् । उनले सराङकोटमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न आवश्यक पुर्वाधार निर्माण गर्न महानगपालिकाको समेत दायित्व भएको भन्दै त्यसको लागि अन्य दातृ निकायसँग सहकार्य गरिने बताए । धार्मिक पर्यटनको गन्तव्य बनाउन शुर गरिएको योजनामा ९७ लाख खर्च भईसकेको छ । पुर्व अध्यक्ष लोकबहादुर थापाको नेतृत्वमा काम शुरु गरिएपनि आर्थिक अभावकै कारण योजनालाई थाँती राखिएको थियो ।

समितिले पहिलो महायज्ञ सराङकोटमै आयोजना गरेको थियो । जसमा ५७ लाख संकलन गरिएको थियो । दोस्रो पोखराको महेन्द्रपुल, तेस्रो काठमाडौं र चौथो पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा आयोजना गरिएको थियो । दोस्रोदेखि चौथो सस्करणको महायज्ञमा भने समिति केवल सहयोगी भूमिकामा मात्रै देखियो ।

समुद्री सतहदेखि १५९२ मिटरको उचाईमा रहेको सराङकोट विशेष गरी साहसिक पर्यटनको केन्द्रविन्दु हो । प्याराग्लाइडिङ, जिप फ्ल्याएर सञ्चालित छ । त्यसमा पनि अब केवलकार निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास स्थानीयबासिन्दाले लिएका छन् ।

पोखरामा २०३० सालबाट पर्यटन व्यवसायको शुरुवात भएको थियो । पर्यटन व्यवसाय शुरुवातको चारदशकपछि सराङकोट पुग्ने पर्यटकको संख्यामा उल्लेख्य बृद्धि भएको छ । उदाउँदो सूर्यको दृष्य हेर्नको लागि मात्रै पुग्छन् । प्याराग्लाइडिङ उडानको उत्कृष्ठ स्थलको रुपमा समेत परिचित छ । इतिहास अनुसार तत्कालिन राजा कुलमण्डल शाहको समयमा कोटमा तरबार(सराङं) चलाउन प्रशिक्षण समेत दिइन्थ्यो । तरबार रक्षार्थ चलाउन प्रशिक्षण दिने चलनले सराङकोटको नामाकरण भएको हो ।

प्रतिक्रिया दिनुहोस्