पर्साका मतादाताः जसलाई मेयरमा पत्याएनन् सांसदमा पत्याए



कृष्णउदास खनाल, वीरगन्ज । असोज २ गते तय गरिएको स्थानीय तह निर्वाचनको अघिल्लो दिनसम्म बिमल श्रीवास्तव राजपाका महामंत्री नै थिए । लोकतान्त्रिक फोरमले उनलाई वीरगन्ज महानगरपालिकाको मेयर पदको टिकट दिएपछि उनी त्यही रातिबाट राष्ट्रिय जनता पार्टी परित्याग गरी फोरम लोकतान्त्रिकमा उनी प्रवेश गरे । राजपाले उनकै कुनै बेलामा आफ्ना चेला राजेशमान सिंहलाई मेयरको टिकट दिएपछि उनी राजपा परित्याग गर्न बाध्य भएका थिए ।
नेकपा एमालेमा प्रवेश गर्देछन् भन्ने हल्ला स्थानीय चुनावको मुखैमा चलाइएको भएपनि अन्ततः श्रीवास्तव वीरगन्जको मेयरमा उठे । करिब सात हजार मत ल्याएर वीरगन्जको मेयरमा लडेकाहरु मध्ये
उनी पांचौं नम्बरमा परे । रातारात टिकट नभएपछि पार्टी परिवर्तन गरेको भन्दै उनको आलोचना भयो । यी सबै कुरा नसुनी उनी लोकतान्त्रिक फोरमका तर्फबाट वीरगन्जको मेयरमा उठे । उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट र पंचायनकालमा समेत वीरगन्जका मेयर बनेका ब्यक्ति थिए । राजा ज्ञानेन्द्रको शासन कालमा समेत गरेर उनी तीन पटक वीरगन्जको मेयर भएका ब्यक्ति हुनाले पनि राजनीतिक रुपमा उनलाई फरक तवरले वीरगन्जमा हेरिन्थ्यो ।
मेयरको चुनावमा आफ्ना चेला राजेशमान भन्दा कम मत ल्याएपछि उनको राजनीतिक यात्रा अब सकियो भन्नेहरुको जमात पनि वीरगन्जमा थियो ।
फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय गच्छदार नै कांग्रेसका प्रवेश गरेपनि उनको राजनीतिक यात्रा पनि ओझेलमा पर्ने आंकलन गरियो तर उनी संघीय चुनाव हुनुभन्दा केही दिन अघि मात्रै फोरम नेपालमा प्रवेश गरे । फोरम नेपालका तर्फबाट पर्साको क्षेत्र नम्बर २ मा उनी संघीय संसदमा लागि चुनावी मैदानमा उत्रिए । अन्ततः उनी आफ्ना प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारलाई पछि पार्दै संघीय संसदमा श्रीवास्तव छिर्नका लागि जनताले अनुमति दिए ।वीरगन्जमा बिकासप्रेमी नेताको रुपमा चिनिएका श्रीवास्तवले आफ्नो जीत वीरगन्जवासीको जीत भएको बताए ।
आफू मधेशी समुदायको भएपनि राणाकी छोरीसंग विवाह बन्धनमा बांधिएका श्रीवास्तवको घरमा नेपाली भाषा पनि शाही बालामा बोलचाल हुन्छ । मधेशी र पहाडी दुबै समुदायलाई मिलाउन सक्ने क्षमता आफूमा भएका कारण पर्साको सामाजिक सद्भाव कायम राख्दै जिल्लाको बिकासमा आफू होमिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्