आगलागी हुँदा शेयर कारोबार दुई घण्टा अवरुद्ध



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालयमा आगलागी हुँदा बिहीबार शेयर कारोबार प्रभावित भएको छ। बुधवार राति करिब साढे ९ बजे नेप्से भवनको दोस्रो तल्लाको एक कोठामा विद्युत सर्ट भई आगलागी भएको थियो।

आगलागीका कारण बिहीबार नेप्से कारोबार दुई घण्टा ढिलो शुरू भई साँझ ५ बजेसम्म खुलेको थियो। उक्त घटना छानविन गर्न नेप्सेले एक समिति गठन गरेको छ।

नेप्सेका अनुसार उक्त आगलागीबाट एयरकन्डिसन, फर्निचर, कम्प्युटरसहित कोठामा रहेका सम्पूर्ण सामानमाा क्षति पुगेको छ। आगलागीका बाबजुत लगानीकर्ताको शेयर स्वामित्वसम्बन्धी सबै तथ्यांक सुरक्षित रहेको नेप्सेले जनाएको छ।

यसैबीच साताको अन्तिम दिन बिहीबार शेयर बजारमा सामान्य गिरावट आएको छ। दुई घण्टा ढिला शुरू भएको बजार शून्य दशमलव ९ अंकले ओरालो लागेको छ। बिहीबार १ हजार ५ सय २० दशमलव ७४ अंकबाट शुरू भएको बजार १ हजार ५ सय २० दशमलव १५ को अंकमा आएर रोकिएको छ।

ढिला शूरु भएर कारोबार शुरू भएको बजार बिहीबार केही समय सुधारिने प्रयासमा रहे पनि आधा घण्टापछि घट्न थालेको थियो। ठूलो अंकले घट्ने देखिएको बजारमा अन्तिम १५ मिनेट तीव्र सुधार आउँदा बजार परिसूचक स्थिर देखिएको हो।परिसूचक घटे पनि बिहीबार कारोबार रकममा ठूलो उतार चढाव आएन। बुधबार ४८ करोड ५९ लाख रुपियाँको शेयर कारोबार भएकोमा बिहीबार १ सय ५३ कम्पनीका ४५ करोड ३१ लख ४४ हजार ९ सय २९ रुपियाँको कारोबार भयो।

बिहीबार कारोबारमा आएका १० समूहमध्ये पाँच समूह गिरावट र पाँच समूह बढ्दा परिसूचक घटेको थियो। यस दिन बैंकिङ तथा बीमाजस्ता ठूला समूह ओरालो लागेका हुन्। घट्नेमा विकास बैंक, होटल र जलविद्युत् समूह पनि रहे। तीमध्ये सबैभन्दा धेरै होटल समूह २७ दशमलव ६४, जलविद्युत् समूह २३ दशमलव ४८ र बीमा समूह २० दशमलव अंकले घटे। बिहीबार बढ्नेमा अन्य समूहमा सर्वाधिक १३ दशमलव ५९ अंकको वृद्धि देखिँदा ट्रेडिङ, फाइनान्स, उत्पादनमूलक र लघुवित्त समूहमा पनि सुधारिका थिए।

बिहीबार नेपाल ग्रामीण विकास बैंकको सबैभन्दा धेरैको कारोबार भएको छ। बैंकको ३ करोड ९७ लाख रुपियाँको शेयर कारोबार भएको हो। यस दिन सर्वाधिक कमाउनेमा कालिका माइक्रोक्रेडिट विकास बैंकका लगानीकर्ता रहेका छन्। कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा हिमालयन जनरल इन्स्योरेन्स लगानीकर्ता सबैभन्दा बढी ५ दशमलव ९६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्