प्रभु लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो



काठमाडौं (नेस)
प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि कारोबार शुरू गरेको छ। प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बीमा बजारलाई ग्रामीण तहसम्म पुर्याउने लक्ष्य रहेको जनाएको छ। कारोबारको शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गर्नुभएको हो।

कार्यक्रममा बोल्दै चापागाईंले १० वर्षको अवधिमा अर्थतन्त्रमा धेरै परिवर्तन आएको बताउँदै सम्भाव्य बजार धेरै भएकाले थप नयँँ बीमा कम्पनीलाई अनुमति दिएको बताउनुभयो। नयाँ बीमा कम्पनी संचालनमा आउँदा थप रोजगारी सिर्जना हुने र बीमा बजारलाई पनि विस्तार गर्न सघाउ पुर्याउने उहाँले बताउनुभयो।

प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले निर्वाचनपछि राजनीतिक संक्रमण सकिएको बताउँदै अर्थतन्त्रले समेत नयाँ उचाई लिने र बीमा बजार पनि गतिशील हुने बताउनुभयो। प्रभु बीमाले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गर्दै आफूहरू बीमा बजारमा केही नयाँ सोचका साथ प्रवेश गरेको र छुट्टै स्थान बनाउनेमा आफू आशावादी रहेको बताउनुभयो। कम्पनीका अध्यक्ष रामबहादुर पाण्डेले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्देश्यसहित कम्पनी स्थापना भएको बताउनुभयो। उहाँले भन्नुभयो–‘हामी शहरसँगै गाउँसम्म जीवन बीमा विस्तार गर्नेछौं। गाउँका किसानदेखि साना व्यापार गर्नेसम्मलाई लक्षित गरेर बीमा योजना ल्याउनेछौं’। कम्पनीले कारोबार शुरू गरेसँगै अमूल्य जीवन बीमा (आजीवन बीमा) र समृद्ध जीवन बीमा योजना पनि सार्वजनिक गरेको छ।

प्रतिक्रिया दिनुहोस्