विशेषता ब्राजिलको स्पर्धामा विजयी



बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता लिटिल मिस क्विन इन्टरनेसनल २०१७ मा नेपालका तर्फबाट सहभागी विशेषता बुढाथोकीले प्रतिस्पर्धामा बेस्ट अफ द बेस्ट अवार्डसहित फस्ट रनर्सअपको उपाधि चुमेकी छिन्।

ब्राजिलको साउपाउलोस्थित होटेल नोभोटेल जारगुवा कन्भेन्सन सेन्टरमा सम्पन्न प्रतियोगितामा विशेषताले डिजाइनर उत्तम बनेपालीले तयार पारेको जीवित देवी कुमारीबाट अभिप्रेरित पोशाकले बेस्ट ड्रेस विधाको अवार्ड पनि जितेकी छिन्। लिटिल मिस क्विन इन्टरनेसनलको फाइनल स्पर्धामा नेपालका विशेषतासहित विश्वका ३१ राष्ट्रका लिटिल मिस क्विनको सहभागिता रहेको थियो। विशेषतालाई प्रतियोगितामा नेपालको आधिकारिक संस्था ई–प्लानेट प्रालिले पठाएको हो। यसअघि विशेषताले टर्कीको बोड्रममा सम्पन्न लिटिल मिस एन्ड मास्टर वल्र्ड युनिभर्स २०१७ मा लिटिल मिस प्लानेट तथा लिटिल मिस ट्यालेन्ट विधाको अवार्ड जितेकी थिइन्। १० वर्षीया विशेषता बालुवाटारस्थित जोन डेवी स्कुलमा कक्षा ५ अध्ययनरत छात्रा हुन्।

विशेषता राजधानीमा मिडिया ल्यान्डले सञ्चालन गरेको आठौं संस्करणको चाइल्ड आइकन नेपाल–२०१७ को विजेता हुन्। सो प्रतिस्पर्धामा उनले ट्यालेन्ट, बेस्ट ड्रेस र फ्रेन्डसिप विधाको अवार्ड पनि जितेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्