१९ उम्मेदवारको जमानत जफत



नवराज पहाडी, लमजुङ

लमजुङमा १९ जना उम्मेदवारको जमानत जफत भएको छ। प्रदेशसभा र प्रतिनिधिसभा दुवैतर्फको सदस्यका लागि लमजुङ जिल्लाबाट विभिन्न दल र स्वतन्त्र उम्मेदवार बनेका १९ जना उम्मेदवारको कुल १ लाख ५० हजार रुपियँँ जमानत जफत भएको हो। प्रतिनिधिसभा सदस्यका प्रत्यासी जमानत जफत भएका ११ जनाको १० हजार रुपियाँका दरले १ लाख १० हजार तथा प्रदेशसभा सदस्यमा ८ जनाको ५ हजार रुपियँँका दरले ४० हजार रुपियाँसमेत गरी कुल १ लाख ५० हजार रुपियाँ जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

लमजुङ जिल्लामा विभिन्न दल र स्वतन्त्र गरी कुल २५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १९ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताउनुभयो। उहँँका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन–२०७४ अनुसारको मत ल्याउन नसक्दा जमानत जफत भएको हो।

उक्त निर्वाचनमा वाम गठबन्धनका तीन जना विजयी हुनुभएको छ भने उहाँहरूका निकटत्तम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तीन जनाको जमानत जोगिएको छ। जमानत फिर्ता गर्नेहरूमा प्रतिनिधिसभातर्फ दिलबहादुर घर्ती र प्रदेशसभामा ‘क’ क्षेत्रबाट गर्जबहादुर गुरुङ र प्रदेशसभा ‘ख’ बाट कृष्णप्रसाद कोइरालाको जमानत जोगिएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा–७१ को उपदफा–१ मा निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था रहेको छ।

उक्त ऐनले तोकेको मापदण्डअनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० दल र एक स्वतन्त्रसहित ११ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सो कार्यालयका अनुसार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र ‘क’ बाट ६ दल तथा प्रदेशसभा सदस्य ‘ख’ बाट ७ राजनीतिक दल र एक स्वतन्त्रसहित ८ जनाको जमानत जफत हुन गएको छ।

जमानत जफत हुनेमा प्रतिनिधिसभातर्फ संघीय समाजवादी फोरमका खेमजंग गुरुङ, नयाँ शक्तिका देवेन्द्र पराजुली, विवेकशील साझा पार्टीका निर्देश सिलवाल, देशभक्त समाजका मेत्तर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका यमबहादुर थापामगर, देशभक्त जनगणतान्त्रिकका सुरेशचन्द्र न्यौपाने, मंगोल नेसनल अर्गनाइजेसनका सोमबहादुर गुरुङ र स्वतन्त्र उम्मेदवार द्वारिकाप्रसाद मिश्रको जमानत जफत भएको हो। यसै गरी, मतदानको अघिल्लो दिनमात्र आफ्नो दल माओवादी केन्द्रमा विलय गरी उम्मेवारी फिर्ता लिएको घोषणा गर्ने जनसमाजवादीका निराजन कुँवरको पनि जमानत जफत हुन गएको छ।

यसै गरी, प्रदेशसभा ‘क‘ तर्फ संघीय समाजवादी फोरमका इन्द्रबहादुर गुरुङ, विवेकशील सझा पार्टीका तल्सीराम गुरुङ, नयाँ शक्तिका राजु थापाको जमानत जफत भएको छ भने उम्मेदवारी हाप्ने जनसमाजवादी पार्टीका बुद्धिमान परियारको पनि जमानत जफत हुन गएको छ। त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा विवेकशील साझा पार्टीका मुनिन्द्र थापा, संघीय समाजवादी फोरमका सुरेशकुमार गुरुङ, नयाँ शक्तिका सरोजकुमार दनाई, अमूल परिवर्तन मसिहा पार्टीका नन्दजंग गुरुङ र स्वतन्त्रका उत्तम गुरुङले जमानत जफत भएको छ। त्यसै गरी, मतदानको अघिल्लो दिनमा मात्र उम्मेदवारी हाप्ने जनसमाजवादीका हर्के सार्कीको पनि जमानत जफत हुन गएको हो।

प्रतिक्रिया दिनुहोस्