​पुस १३ देखि १४औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी



काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपममा १४औँ संस्करणको जुत्ता–चप्पल तथा छालाजन्य वस्तुको राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘आत्मनिर्भरताको आधार स्वदेशी वस्तुको प्रयोग’ नारासहित पुस १३ देखि १८ सम्म सञ्चालन गरिनेछ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपालमा उत्पादित छालाजन्य वस्तुको प्रवद्र्धन र बजारीकरण गर्नु मेलाको उद्देश्य रहेको आयोजकको भनाइ छ । यसपटकको मेलामा जुत्ता–चप्पल तथा छालाजन्य उत्पादनका करिब १ सय २५ वटा स्टल रहनेछन् ।
मेलालाई आकर्षक बनाउन स्टल निर्माणमा पृथकता दिइनुका साथै उत्पादनका बेग्लाबेग्लै प्याभिलियनको समेत व्यवस्था गरिनेछ ।
स्टलका प्याभिलियनमा छालाका जुत्ता, स्पोर्टस् जुत्ता, क्याजुअल जुत्ता, स्कुल–कलेज युनिफर्मका जुत्ता, जेन्ट्स तथा लेडिज स्यान्डलका स्टल प्रदर्शनीमा रहनेछन् । जुत्ता–चप्पल तथा छालाजन्य वस्तु उत्पादनमा प्रयोग गरिने सहायक कच्चा पदार्थका उत्पादनसमेत प्रदर्शनीमा राखिने आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले जानकारी दिएको छ ।
मेलामा सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले प्रत्येक दिन रक्तदान कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ ।
प्रदर्शनीमा हालसम्म प्रायोजकबाहेकका उद्योगीकोे ६५ वटा स्टल बुकिङ भइसकेका छन् ।
प्रदर्शनीको गोल्डेन स्पोन्सरमा किरण सुज म्यानुफ्याक्चरर्सको गोल्ड स्टार र हात्तीछाप चप्पल रहेको छ भने सिल्भर स्पोन्सरमा रोयल सुज र म्याजिक चप्पल रहेको छ । स्पोन्सरका रूपमा हाइलाइफ, क्यालिबर र मिलानोको साथ रहनेछ ।
यसैगरी को–स्पोन्सरमा कोसेली, ब्ल्याक हर्स सुज तथा नेपाल लेदर क्राफ्ट र यति रेग्जिन रहेका छन् । प्रदर्शनी करिब २ लाखभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको छ ।

प्रतिक्रिया दिनुहोस्