शुक्र, प्रतीमा र सुभास छनोट



नेपाल समाचारपत्र
काठमाडौं
शुक्रबहादुर राई, प्रतीमा शेर्पा र सुभास घिसिङ छैटौं सीएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपमा उपाधि जितेर फाल्डो सिरिज एसियाको लागि छनोट भएका छन्।

फाल्डो सिरिज एसिया ग्रान्ड फाइनल आगामी मार्चमा भियतनामको डानाङस्थित लागुना लाङ कोमा निक फाल्डोद्वारा आयोजना हुँदै छ। गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै राष्ट्रिय गल्फ च्याम्पियन शुक्रबहादुरले समग्रमा ११ ओभर २ सय २७ स्कोरका साथ उपाधि जितेका हुन्। ७ ओभर ७९ स्कोरसहित समग्रमा २ सय ३७ स्कोर जोडी विपीन तामाङ दोस्रो भए। ८१ अंकसहित समग्रमा २ सय ४९ को नतिजामा सुरेश तामाङ तेस्रो भए।

महिलातर्फ डिफेन्डिङ च्याम्पियन प्रतीमाले कसमिरा शाहलाई ३७ स्ट्रोकको भारी अन्तरमा हराउँदै उपाधि रक्षा गरिन्। ४ ओभर ७६ स्कोर गरी समग्रमा १४ ओभर २ सय ३० को नतिजामा ३७ स्ट्रोकको सहज जित हात पारिन्। ९१ स्कोर गरेकी कसमिरा समग्रमा २ सय ६७ सहित दोस्रो र २ सय ९२ स्कोरसहित प्रतिभा राई तेस्रो भएका थिए।

प्रतियोगिताको १२ देखि १६ वर्ष उमेर समूहतर्फ भारतीय खेलाडी मोनिस शाहलाई १ स्ट्रोकले हराउँदै सुभास उपाधी जित्न सफल भए। उनले ४ ओभर ७६ स्कोरसहित समग्रमा २ सय ३२ अंक जोडे। एक ओभर ७३ स्कोरसहित समग्रमा २ सय ३३ को नतिजामा मोनिस शाह दोस्रो र २ सय ३८ स्कोरसहित विनोद तामाङ तेस्रो भए।

प्रतियोगितामा काठमाडौं उपत्यकालगायत पोखरा, धरान र भारतका गरी २३ खेलाडीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्